डोटी – डोटीमा ‘मुडेगाउँ आँप प्रदर्शनी’ आयोजना गरिएको छ। जिल्लाको शिखर नगरपालिका–२ मुडेगाउँको कालागाडमा आँप प्रदर्शनी गरिएको हो । पर्यटन व्यवसायी तथा रैका टुर्स एण्ड ट्राभल्सका प्रवन्ध निर्देशक अमरबहादुर शाहीको एकल प्रयासबाट आँप प्रदर्शनी–२०७८ को आयोजना गरिएको हो ।

मुडेगाउँमा उत्पादन भएका करिब २० देखि २५ जातका आँप प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा करिब २५ जना किसानले उत्पादन गरेका आँप राखिएका थिए । आँप व्यससायी शाहीले भने, ‘मुडेगाउ आँपलाई देश तथा विदेशमा चिनाउने लक्ष्य रहेको छ। विभिन्न प्रजातिका तथा अन्य ठाउँभन्दा मिठा आँप मुडेगाउँमा पाइन्छन् ।’ उनले थपे, ‘मुडेगाउँ म्याङ्गो’ को ब्राण्डले हामी चिनाइरहेका छौं ।’

मध्य तथा सुदूरपश्चिमको पर्यटन क्षेत्रमा अग्रपंक्तिमा रहेका शाहीले विगत दश वर्षको लामो प्रयासपछि तीन सय ओटा विभिन्न प्रजातिका आँप ८० रुपैयाँदेखि ५०० रुपैयाँ केजीसम्मका आँप आफ्नो बारीमा फलाउन सफल भएका छन् । करिब १८ देखि २० क्वीन्टल हाराहारीमा आँप फल्ने गरेको शाहीले बताए ।
शाहीले आफू मात्र नभएर मुडेगाउँमा नै आँपका बोट दिएर अहिले गाउँ आँप बगैंचा जस्तै देखिन थालेको छ। बजारीकरणका साथै बिरुवामा लाग्ने रोगको समस्या भएको उनको भनाइ छ । मुडेगाउँका आँपहरूलाई विगत वर्षदेखि चिनापरिचयको आधारमा काठमाडौंलगायत ठाउँमा अर्डर अनुसार पठाउने गरेको उनले बताए ।

















