नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग भेटवार्ता गरेको पुष्टि गर्न चुनौति दिएका छन् ।
विभिन्न सञ्चार माध्यमले उच्च सुरक्षा सूत्रको श्रोतले पुष्टि गरेको भनी आफ्नाविरुद्ध मनगढन्ते समाचार प्रकाशन भएको दाबी गर्दै रावलले ‘रअ’का प्रतिनिधिसँग भेट गरेको पुष्टि गर्न चुनौति दिएका हुन् ।
गएको असार २० गते राति तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको भेटअघि नेता रावलले काठमाडौँको मेरियट होटलमा ‘रअ’का प्रतिनिधिसँग भेट गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको थियो ।

नेता माधवकुमार नेपालको निवासबाट बालुवाटार जान निस्केका रावल बीचमा आधा घण्टा सम्पर्क भन्दा बाहिर रहेको दाबी खबरहरुमा गरिएको थियो ।
बुधबार एक प्रेस वक्तव्य जारी गर्दै रावलले मनगढन्ते समाचार लेखेर आफ्नो देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण गर्ने घृणित प्रपञ्च गरिएको बताएका छन् ।
उनले त्यसदिन आफू र नेता रघुजी पन्त वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा रहेको र तत्कालीन प्रधानमन्त्री केपी ओलीले भेटका लागि बोलाएको खबर विष्णु पौडेलले फोन मार्फत सुनाएपछि टोखास्थित घर गएर बालुवाटार गएको दाबी गरेका छन् ।
विष्णु पौडेलले सात बजे बालुवाटार आउन भने पनि घरमा खाना ढिलो भएका कारण आफूले ८ बजे आइपुग्ने खबर पठाएको र खाना खाएर बालुवाटार पुग्दासम्म सवा ८ बजेको रावलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तो तथ्यलाई बंग्याएर आफू ८ बजे मात्र नेपाल निवासबाट निस्केको र बीचमा आधा घण्टा गायव भएर पौने ९ बजे मात्रै बालुवाटार पुगेको र बीचमा मेरियट होटलमा रअका प्रतिनिधिसँग भेट गरेको भनि कूप्रचार गरिएको रावलको दाबी छ ।
प्रधानमन्त्रीसँगको वार्ता सकेर आफू घर फर्केको र भोलिपल्ट त्यसबारे वरिष्ठ नेता नेपाललाई जानकारी गराएको रावलले बताएका छन् ।
उनले आफूलाई एमाले अध्यक्ष ओलीबाट पार्टीको कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव आएपछि नरम भएको भनि प्रकाशित समाचारको पनि खण्डन गरेका छन् ।
ओलीबाट त्यस्तो कुनै प्रस्ताव नआएको बरु आफूले विवाद समाधान कार्यदल पुनर्जीवित पारे मात्रै वार्तामा बस्ने अडानयुक्त वार्ता ओलीसँग गरेको रावलले दाबी गरेका छन् ।
उनले पद र प्रतिष्ठाका लागि बाह्य शक्तिसँग घुँडा टेकेर देशलाई संकटतर्फ धकेल्न तयार हुनेहरु नै आफूविरुद्ध घृणित प्रचारमा लागेको आरोप लगाएका छन् ।
असार २७ गते नै यस्ता खालको कुप्रचार गरिनु एमाले एकता हुन नदिने षडयन्त्र पनि रहेको रावलको दाबी छ । उनले एमाले मिलाउन खोज्दा आफूलाई विभिन्न नेताहरुबाट धम्कीयुक्त फोन आएको पनि वक्तव्यमार्फत खुलासा गरेका छन् ।
रावलले विज्ञप्तिमा भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’





















