धनगढी – कोरोना महामारीका कारण छिमेकी मुलुक भारतबाट घर फर्किने सुदूरपश्चिमेलीको संख्या बढीरहेका बेला भारत पस्नेको संख्यामा पनि कमी आएको छैन ।
महामारीका कारण भारतमा काम नपाउँदा घर फर्कनेको संख्या बढ्दै गएपनि जानेको संख्यामा पनि बृद्धि भईरहेको हो ।

असार यता मात्रै सुदूरपश्चिमका दुई नाकाबाट २९ हजार भन्दा बढी नागरिकहरु भारत पसेका छन । असार १ गतेदेखी २५ गतेसम्म सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र गड्डाचौकीबाट २९ हजार १ सय ८३ जना भारत पसेको कञ्चनपुरस्थित प्रहरी चौकी पचगडीयाका इन्चार्ज खडकजंग शाहीले बताए ।

उनका अनुसार भारतबाट घर फर्किनेको भन्दा भारत पस्नेको संख्या ४ गुणा बढी छ । असार १ गतेदेखी २५ गतेसम्म दुई नाकाबाट ६ हजार ९ सय ९६ जना नेपाल प्रवेश गरेपनि करिब ४ गुणा नागरिक भारत पसेका उनले बताए ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण केही घटेपछि सुदूरपश्चिमका नाकाबाट भारत जानेको संख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार असार पहिलो सातादेखि भारत जाने नेपालीको संख्या बढेको हो ।
शुक्रबारमात्रै भारतबाट २ सय ६३ नेपाल फर्किएका थिए भने १७ सय ८७ जना भारत गएका छन् ।
भारतमा कति नेपालीले रोजगारी गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क कसैसँग नभए पनि सुदूरपश्चिम प्रदेशको जनसंख्याको करीब २५ प्रतिशत नेपालीले भारतमा काम गरिरहेको अनुमान छ ।


















