खाेज्नुहाेस

टीकापुर नाबालक हत्या प्रकरण : हत्या आरोपमा दुई युवती पक्राउ

Image
navjiwan hospital

धनगढी – कैलालीको टीकापुरमामा नाबालक हत्या प्रकरणमा प्रहरीले २ युवतीलाई पक्राउ गरेको छ । नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले हत्या गरेको स्वीकारेको बताएका छन ।

उनले भने ‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको छ । दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन् । विवेकले लगाएको बाला ति युवतीको साथीसंग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ ।’

प्रारम्भिक अनुसन्धानका क्रममा युवतीले परिवारीक रिसिबीका कारण हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

सोमबार देखि बेपत्ता भएका कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षीय बालक बुधबार टिकापुर नगरपालिका – ४ बागमारा स्थित जमरा कुलाको किनारमा मृत फेला परेका थिए ।