खाेज्नुहाेस

विपन्न परिवारको आहार बन्दै राहत 

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१७, धुर्जन्ना (नमुना शिविर) की पार्वती दमाइ परिवारलाई राहतमा पाएको खाद्यान्न आहार बनेको छ ।

पार्वतीका श्रीमान परिवारको आहार जुटाउन ओखलढुङ्गा छन् । उनी त्यहाँ मजदुरी गर्दै आएका छन् । परिवारको घरखर्च चलाउन उनले त्यहाँबाट आवश्यक पैसा पठाउँदै आएका थिए । पार्वतीले सोही रकमबाट परिवारको आहारको व्यवस्था गर्दै आएकी थिइन् । पाँच छोराछोरीका आमा पार्वतीले एक छोरीलाई पढाउँदै आएकी थिइन् । चार छोराले पनि दैनिक ज्याला मजदुरी गरेर भएपनि केही साथ दिदै आएका थिए ।

attariya hospital

तर, कोभिड–१९ दोश्रो लहरका कारण सरकारले निषेध आदेश जारी गरेपछि पतिको रोजगारी गुम्यों । दैनिक ज्यालामजदुरी गर्दै आएका छोराले काम पाएनन् । काम गर्ने सबै जना बेरोजगार भएपछि पार्वतीका परिवारलाई दैनिक गुजारा चलाउन धौधौ भयो । उनले केही समयसम्म छरछिमेक संग पैँचो मागरेर खाद्यान्नको जोहो गरिन् ।

एउटै आर्थिक हैसियत भएका घरपरिवारको बसोबास रहेको नमुना शिविरमा उनले चाहेजति सहयोग पाउन नसकेपछि उनले रोजगारीका लागि छोरालाई भारत पठाउने प्रयास गरिन् । ऋण खोजेर भारतका लागि घरबाट बिदाई गरेपनि बढ्दो कोरोना संक्रमणका कारण छोरा सिमानाकाबाटै फर्किएपछि उनलाई झनै समस्या भयो ।

पैँचो मागु भने पहिले नै मागिसकेकी उनी ऋण समेत माग्ने बाटो बन्द भएकोले दैनिक आहार जुटाउन समेत धौधौ थियो । बिहीबार राहतमा चामल, तेल, दाल, नुन, साबुन पाएपछि पार्वतीका परिवारका लागि राहत बन्यो आहार । पाएको राहतले परिवारको १० दिनसम्म पेट भर्ने पार्वतीले बताइन् । १० दिनलाई पुग्यो पार्वतीले भनिन्, ‘१० रुपैयाँ पाउन सकस थियो ।’ गत वर्ष पनि राहतमा पाएको खाद्यान्नले लकडाउनमा उनको परिवारको पेट भरिएको थियो ।

पार्वती जेठाजु, चार छोरा र एक छोरीसंगै बस्दै आएकी छिन् । गत वर्ष स्थानीय निकायले पनि राहत वितरण गरेको कारण सहज भएको पार्वतीको भनाई छ । यो वर्ष स्थानीय निकायले राहत बिपन्न परिवारलाई राहत वितरण गरेको छैन ।

कैलालीमा बैशाख १६ गतेदेखि जारी गरेको निषेध आदेश पूर्ण रुपमा खुलेको छैन । पछिल्लो समय निषेध आदेश खुकुलो बनाइएको भएपनि पूर्ण रुपमा नहटेका कारण काम नपाउँदा  दैनिक ज्यालामजदुरी गरेर खाने निम्न वर्गिय परिवारकालाई दैनिक गुजारा चलाउन सकस भएको छ ।

navjiwan hospital

नमुना शिविरकी मिना मगरलाई पनि दैनिक गुजारा चलाउन समस्या छ । घरमा ६ जना छन् । श्रीमान् दैनिक ज्यालामजदुरी गरेर घरखर्च चलाउँदै आएका छन् । तर, निषेध आदेशका कारण काम नपाउँदा ४ छोरीसहित उनको परिवारलाई पनि दुई छाक तार्न समस्या छ । जम्मा गरेको पैसा खाएर सकियो मिना मगरले भनिन्, ‘पैँचो मागेर दुई छाक तार्दै आएकी थिए ।’ उनले पनि राहतमा खाद्यान्न पाएपछि केही दिनका लागि ढुक्क भएको बताइन् । उनले पनि चामल, दाल, तेल, नुन, साबुन पाएपछि आफ्नो परिवारले १५ दिनसम्म मजाले पेट भर्न पाउने बताइन् ।

पार्वती र मिनालाईजस्ता निम्न वर्गीय परिवारलाई मात्र होइन् लामो समयदेखिको निषेध आदेशका कारण मध्यम वर्गीय परिवालाई समेत दैनिक गुजारा चलाउन समस्या छ ।

कोभिड–१९ दोश्रो लहरका कारण रोजगार गुमाएका कैलाली कञ्चनपुरका २ सय १२ अति विपन्न परिवालाई राहत वितरण गरिएको छ ।

अमेरिकन हिमालयन फाउण्डेसनको आर्थिक सहयोगमा ग्रामीण स्वास्थ्य शिक्षा गुठी काठमाण्डौंसंगको सहकार्यमा महिला विकास समाज धनगढीले कैलालीका १ सय १८ र कञ्चनपुरका ९४ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

कैलालीको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाका १ सय १८ तथा कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ९४ परिवारलाई राहत वितरण गरिएको महिला विकास समाज धनगढीकी कार्यक्रम निर्देशक शान्ति शर्माले बताइन् ।

कोभिड–१९ का कारण जारी निषेध आदेशले रोजगार गुमाएका बेरोजगार, दैनिक ज्याला मजदुरी गर्दै आएका खान समेत समस्या भएकाहरुलाई राहत विरण गरिएको कार्यक्रम निर्देशक शर्माले बताइन् । उनले प्रति परिवार चामल एक कट्टा, चार किलो दाल, तीन लिटर खाने तेल, नुन एक पोका र चार वटा साबुन वितरण गरेको बताइन् । उनले गत वर्ष पनि अति विपन्न परिवारालाई राहत वितरण गरेको बताइन् ।

कोभिड–१९ को पहिलो लहरमा स्थानीय, प्रदेश सरकारले विपन्न, गरिव, दैनिक ज्यालादारीमा निर्भर भएकालाई खाद्यान्न लगायतको सामाग्री बितरण गरेको थियो । तर, दोश्रो लहरमा लामो समयदेखि निषेध आदेशका कारण रोजगारी गुमाएका निम्म वर्गीय परिवालाई दैनिक गुजारा चलाउन समेत समस्या भएको छ ।