खाेज्नुहाेस

बैतडीको चडेपानीका १९ जनामा कोरोना देखिएपछि गाउँ सिल

Image

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै गाउँका १९ जनामा संक्रमण पुष्टि भएपछि चडेपानीलाई एक हप्ताका लागि सिल गरिएको छ ।

सोमबार गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले  उक्त गाउँलाई सिल गर्ने निर्णय गरेको हो ।  संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मको लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिए । सिल भएको अवधिमा उक्त गाउँमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको हो ।

attariya hospital

उक्त गाउँका करिब ८० जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले  बताए । संक्रमितहरुलाई  संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्दा नमानेकोले  गाउँमा संक्रमणको झनै जोखिम बढेको छ ।

navjiwan hospital

चडेपानीमा कम्तीमा ५ सय जनाको बसोबास रहेको स्वास्थ्य शाखाले जनाएको छ । सिल गरिएको उक्त अवधिमा उनीहरू सबैको परीक्षण गरिने स्वास्थ्य प्रमुख नाथको भनाइ छ ।

दोगडाकेदार गाउँपालिकामा हाल चडेपानीका मात्रै १९ जना सक्रिय संक्रमित छन्। जिल्लाभरि सक्रिय संक्रमित संख्या ८९ रहेको छ । कोरोनाकै कारण बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ ।

भारतसँग सीमा जोडिएको बैतडीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा असार १६ पछि निषेधाज्ञा खुकुलो गरिएको छ। निषेधाज्ञा खुकुला गरिएसँगै संक्रमण पनि बढ्दै गएको छ ।