अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १८.५६ प्रतिशतले वृद्धि भएको छ । तर सोही अवधिमा कर्जा प्रवाह भने ३.८२ प्रतिशतले मात्रै बढेको छ ।
नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म प्रदेशका बैंक तथा वित्तीय संस्थामा कुल २ खर्ब ६ अर्ब ९ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.५६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष निक्षेप संकलन १६.३० प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा १ खर्ब ६३ अर्ब ४१ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाह २.९८ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा ३.८२ प्रतिशतले वृद्धि भएको हो ।
जिल्लागत रूपमा सबैभन्दा बढी निक्षेप कैलालीमा संकलन भएको छ । प्रदेशको कुल निक्षेपमध्ये कैलालीको हिस्सा ४८.५० प्रतिशत रहेको छ । सबैभन्दा कम बाजुरा जिल्लाको हिस्सा २.६४ प्रतिशत रहेको छ ।
कर्जा प्रवाहमा पनि कैलाली अगाडि छ । प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कैलालीको हिस्सा ६८.३७ प्रतिशत रहेको छ । सबैभन्दा कम बाजुराको हिस्सा ०.९४ प्रतिशत मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशभर बैंक तथा वित्तीय संस्थाका ८४४ शाखा सञ्चालनमा रहेका छन् । तीमध्ये वाणिज्य बैंकका ३३३, विकास बैंकका ५१, वित्त कम्पनीका ६ र लघुवित्त वित्तीय संस्थाका ४५४ शाखा रहेका छन् ।



















