धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी २४ गतेसम्मका लागि स्थगित भएको छ। बजेट प्रस्तुत गर्न बुधबार साँझ ५ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अन्तिम समयमा स्थगित गरी बिहीबार बिहान ८ बजेका लागि सारिएको थियो। तर, बिहीबार बिहानका लागि बोलाइएको बैठक पनि स्थगित भएको हो।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बिहीबार बिहान ८ बजे बस्ने गरी तयारी गरिएको बैठक अब २४ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको बताए।


बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम प्रभावित भएको थियो ।
अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई शुक्रबार छलफलमा बोलाएको छ।
सर्वोच्चले अघिल्लो र वर्तमान सरकार दुवै पक्षलाई छलफलमा बोलाएपछि बजेट पेस गर्ने कि नगर्ने भन्ने विषयमा सरकार थप अन्योलमा परेको छ।
















