खाेज्नुहाेस

बझाङमा च्याउ खोज्न गएका एक युवक पाँच दिनदेखि सम्पर्कविहीन

Image

बझाङ – च्याउ खोज्न भनेर घरबाट हिँडेका एक युवक पाँच दिनदेखि सम्पर्कविहीन छन् । खप्तडछान्ना गाउँपालिकाको गोर्खालीगाउँका ३३ वर्षीय जितेन्द्र खड्का सम्पर्कविहीन भएका हुन् ।

navjiwan hospital

भदौ २३ गते बिहान घरबाट लहरे सामुदायिक वनको डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न भन्दै हिँडेका थिए । बझाङ र बाजुराको सिमानामा पर्ने उक्त जंगलमा गएका जितेन्द्रले साँझ फर्किने भनेर घरबाट निस्किएको तर शनिबारसम्म सम्पर्कमा नआएको उनका काका नाता पर्ने मंगलबहादुर खड्काले बताए ।

attariya hospital

पाँच दिन बितिसक्दा पनि खड्काको कुनै खबर नआएपछि परिवार तथा आफन्त चिन्तित बनेका छन् । खड्काले बोकेको मोबाइलमा फोन लागे पनि रिसिभ नहुने गरेको परिवारको भनाइ छ । खड्का सम्पर्कविहीन भएपछि परिवारले खोजी खबर गरिदिन सबैसँग आग्रह गरेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय बझाङले पनि जितेन्द्र खड्का हराएको सम्बन्धमा जानकारी प्राप्त भएको जनाउँदै उनको मोबाइल लोकेसन ट्याकिङ गर्दा बाजुराको बडिमालिका मन्दिरको टावरनजिक देखिएको बताएको छ । । उनको खोजीका लागि प्रहरी संयन्त्र परिचालन गरी सम्भावित स्थानमा खोजतलास तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक विष्टले बताए । बाजुराको प्रहरीसँग पनि उनको खोजीका लागि समन्वय भइरहेको विष्टको भनाइ छ ।