धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ ले मन्त्रालय मातहतका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहणसँगै उनले समिति गठनसहित तीनवटा निर्णयमा हस्ताक्षर गरेका हुन् ।
मन्त्रालयको प्रादेशिक सडक तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र खत्री संयोजक र मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुखहरूलाई समितिको सदस्यमा राखिएको छ । समितिलाई बहुवर्षीय ठेक्काको अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।


समितिले दिने प्रतिवेदनका आधारमा लामो समयदेखि काम हुन नसकेका बहुवर्षीय ठेक्काबारे मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्री भाटले बताए । ठेक्काहरू वर्षौँदेखि अलपत्र रहँदा जनताले सास्ती भोगिरहनुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निर्माण व्यवसायीलाई काममा लगाउने र काम नगर्नेका ठेक्का रद्द गरिने बताए ।
त्यस्तै, कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको राजमार्ग सडक र धनगढी–अत्तरिया सडकमा दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षामा के गर्न सकिन्छ भनेर सुझाव दिन खत्रीकै संयोजकत्वमा अर्को समिति गठन गर्ने निर्णय पनि मन्त्री भाटले गरेका छन् । मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार यो समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि लाइट, ट्राफिक व्यवस्थापन लगायतका कामहरू मन्त्रालयले गर्ने मन्त्री भाटले बताए । सरकारले सुशासन र पारदर्शिता कायम गरेर काम गर्ने प्रतिबद्धता पनि जनाए । बजेट निर्माण प्रक्रियालाई पनि तीव्र गतिमा अगाडि बढाउने उनको भनाइ थियो । ‘बजेट निर्माणको प्रक्रसया पनि मन्त्रालयले चाँडै सुरु गर्छ । भूगोल, जनसंख्या र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ,’ मन्त्री भाटले भने ।



















