काठमाडौं । गुगलले प्रयोगकर्तालाई आफ्नो अकाउन्टमा अझ सुरक्षित र सहज रूपमा पहुँच दिने उद्देश्यले नयाँ ‘सेल्फी साइन–इन’ सुविधा सार्वजनिक गरेको छ । पासवर्ड बिर्सिएको वा आफ्नो नियमित मोबाइल तथा कम्प्युटरमा पहुँच नभएको अवस्थामा पनि प्रयोगकर्ताले आफ्नो अनुहारको छोटो भिडियो प्रयोग गरेर अकाउन्टमा सइन–इन गर्न सक्नेछन् ।
गुगलका अनुसार यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले सुरुमै आफ्नो अनुहारको छोटो भिडियो रेकर्ड गर्नुपर्छ । जसका लागि प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्टभित्र रहेको सेक्युरिटी एन्ड साइन–इन अप्सनभित्र जानुपर्नेछ । त्यहाँ रहेको सेल्फी भिडियो अप्सनमा क्लिक गरी रेकर्ड गर्न सकिनेछ । भिडियो खिच्दा स्क्रिनमा देखाइने निर्देशनअनुसार टाउको घुमाउनेजस्ता सामान्य गतिविधि गर्नुपर्ने हुन्छ, जसले विभिन्न कोणबाट अनुहारको विवरण सुरक्षित रूपमा रेकर्ड गर्छ ।


भविष्यमा अकाउन्टमा साइन–इन वा अकाउन्ट रिकभर गर्नुपर्दा प्रयोगकर्ताले फेरि नयाँ सेल्फी भिडियो रेकर्ड गर्नुपर्नेछ । गुगलले नयाँ भिडियो र पहिले सुरक्षित गरिएको भिडियोबिच तुलना गरेर वास्तविक प्रयोगकर्ता भएको पुष्टि गर्नेछ ।
यस क्रममा लाइभ भिडियो प्रयोग गरिने भएकाले नक्कली फोटो वा एआईबाट बनाइएका डीपफेक भिडियो प्रयोग गरेर अकाउन्ट ह्याक गर्न कठिन हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार सेल्फी भिडियो केवल अकाउन्टमा पहुँच पुनः प्राप्त गर्न वा साइन–इनका लागि मात्र प्रयोग हुनेछ । प्रयोगकर्ताले चाहेमा कुनै पनि बेला आफ्नो सुरक्षित भिडियो मेटाउन सक्नेछन् । यदि अन्य अनुसन्धान वा सेवा सुधारका लागि प्रयोग गर्न अनुमति दिन चाहेमा प्रयोगकर्ताले त्यसका लागि छुट्टै सहमति दिनुपर्नेछ ।
गुगलले यो सुविधा विश्वव्यापी रूपमा चरणबद्ध रूपमा उपलब्ध गराउन थालेको जनाएको छ । सुरुमा सबै प्रयोगकर्ताले यो सुविधा नपाउन सक्ने गुगलले जनाएको छ । हालका लागि योग्य अकाउन्टमा मात्र यो विकल्प देखिने कम्पनीले जनाएको छ ।















