खाेज्नुहाेस

डा. केसीको सत्याग्रहमाथि संशय

Image

अत्तरिया – डा. गोविन्द केसीले बिहीबार देखि धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा तेस्रो पटक सत्याग्रह सुरु गरेका छन् । उनको आफ्नो जीवनकालको २४ औँ सत्याग्रह भए पनि कृष्ण मन्दिरको धर्मशालामा मात्रै उनी तेस्रो पटक सत्याग्रहमा बसेका छन । उनी २० औँ सत्याग्रह पछिका ४ सत्याग्रह सुदूरपश्चिममै बसेका छन् । चारवटै  सत्याग्रहमा उनले गेटा विश्वविद्यालयको मुद्दा उठाएका छन् । तर, उनले गेटाको विषयमा उठाएको मुद्दालाई कतिपयले पछिल्लो समय भने शङ्काको दृष्टिले हेर्न थालेका छन् ।

पहिलो पटक धनगढीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा २० औँ सत्याग्रह सुरु गरेका डा. केसीले ७ बुँदे माग राखेका थिए । २०७९ भदौ २७ गते देखि सुरु भएको उक्त सत्याग्रहको २ नम्बर बुँदामा गेटामा तत्काल मेडिकल कलेज सञ्चालन गरियोस् भन्ने रहेको थियो । त्यति बेला भने गेटामा मेडिकल कलेज, प्रतिष्ठान या विश्वविद्यालय के बनाउने भन्ने बारेमा बहस र आन्दोलन जारी रहेको थियो । उनले मेडिकल कलेजको माग राखे पनि सरकारद्वारा मोडालिटिको टुङ्गो नलागेका कारण उनको मुद्दा त्यति धेरै विवादमा आएन ।

attariya hospital

डा. केसीको उक्त सत्याग्रहको ५ महिना पछि माघ २९ गते सरकारले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय ग-यो । उक्त निर्णय गरेको १० महिना पछि पुनः डा. केसीले २१ औँ सत्याग्रह गर्ने घोषण गरे । सोही अनुरूप उनी २०८० मंसिर २९ गते साँझ गेटामा पुगेका उनी स्थानीयद्वारा लखेटिए । उनको सत्याग्रहका मागहरूमा गेटामा मेडिकल कलेज हुनुपर्ने बुँदा समावेश गरेका थिए । जसका कारण स्थानीयले विश्वविद्यालय बनाउने निर्णय भए पनि पनि मेडिकल कलेजको माग ल्याएर सत्याग्रहमा बस्न आएको भन्दै लखेटेका थिए । यद्यपि उनी गेटाबाट लखेटिए पनि धनगढी गएर भने सोही माग सहित कृष्ण मन्दिरको धर्मशालामा ३ दिने सत्याग्रह गरेर फर्किएका थिए । उक्त सत्याग्रहको धनगढीमै समेत चर्को विरोध भएको थियो ।

त्यसपछि २२ औँ सत्याग्रहमा भने उनले बढी राजनीति मुद्दा उठाएका थिए भने गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्न पनि माग गरिएको थियो । उक्त सत्याग्रह उनले २०८१ वैशाख २९ गते देखि काठमाण्डौमै गरेका थिए ।

navjiwan hospital

२०८२ भदौ १५ गते देखि २३ औँ सत्याग्रह भने उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्राङ्गणमै गरेका थिए । सो क्रममा उनले राखेका ४ बुँदे मागमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सञ्चालन गरिनुपर्ने थियो । विश्वविद्यालयको सञ्चालनको माग सत्याग्रह घोषणा गरिएपछि अघिल्लो पटक उनलाई गेटाबाट लखेटेकाहरूले पनि उनलाई साथ दिएका थिए ।

बिहीबार देखि धनगढीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा उनले ५ बुँदै माग सहित आफ्नो २४ औँ सत्याग्रह सुरु गरेका छन् । यस पटकको सत्याग्रहमा उनले गेटाको मुद्दालाई पहिलो बुँदामै समावेश गरेका भए पनि उनको मागप्रति केहीले संशय पैदा गरेका छन् । विगतमा उनको भूमिका र हाल उनले राखेको मागले फेरी विश्वविद्यालय सञ्चालनमा विलम्ब हुने त होइन भनेर स्थानीयले संशय व्यक्त गरेका हुन ।

उनले आफू विश्वविद्यालयको पक्षमा रहेको बताए पनि विश्वविद्यालयमा भएको पदाधिकारीको नियुक्तिको खारेजको माग गरेका छन् । उनको पहिलो बुँदामा राखिएको मागमा भनिएको छ ‘स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैर कानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् ।’

सत्याग्रह बस्नु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले गेटा मेडिकल विश्वविद्यालयका नाममा मेडिकल माफियाको स्वार्थ पूर्ति गर्ने काम भइरहेको गम्भीर आरोप समेत लगाएका थिए । उनले दशकौँदेखि विशिष्ट सेवा दिँदै आएका त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता स्थापित संस्थालाई पन्छाएर गेटामा नयाँ संरचना थोपर्नु र ऐनमा विवादित प्रावधान राखेर आफू अनुकूल निजी संस्थाका व्यक्तिलक्षित कुलपति र उपकुलपति नियुक्त गरिएको केसीको आरोप छ । उनले चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तीन वर्ष शिक्षण अस्पताल चलाएको हुनुपर्ने व्यवस्था भएकाले गेटामा पहिले शिक्षण अस्पताल सञ्चालन गर्न र त्यसपछि मात्र चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न आग्रह गरे ।

उनका यी मागले एक साता अघि मात्रै नियुक्त गरिएका पदाधिकारी खारेजी गरिएमा विश्वविद्यालयमा अघि बढेका कार्यक्रम प्रभावित हुने र यसै वर्ष देखि सञ्चालन गर्ने भनिएको स्वास्थ्य शिक्षाका कार्यक्रम पनि रोकिने भन्दै चिन्ता व्यक्त गरिएको छ । बिभिन्न राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा र स्थानीयले सत्याग्रहले विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्दै विरोध जनाएका छन ।