खाेज्नुहाेस

नयाँ डीएनए परीक्षणले बचाउन सक्छ किमोथेरापीबाट

Image

काठमाडौं- विश्वभरका लाखौं स्तन क्यान्सरका बिरामीहरूलाई अनावश्यक किमोथेरापीबाट राहत मिल्न सक्ने सम्भावना देखिएको छ। वैज्ञानिकहरूले यस्तो डीएनए परीक्षण विकास गरेका छन्, जसले कुन बिरामीलाई किमोथेरापीबाट लाभ हुन्छ र कुनलाई हुँदैन भन्ने पहिचान गर्न सक्छ।

अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनको नतिजाले परीक्षणमा सहभागी दुईतिहाइभन्दा बढी बिरामीलाई किमोथेरापीका दुष्प्रभावबाट जोगाउन सकिने र उनीहरूको उपचार केवल हर्मोन थेरापीमार्फत गर्न सकिने देखाएको छ।

attariya hospital

किमोथेरापीका कारण थकान, वाकवाकी लाग्ने, कपाल झर्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने तथा प्रजननसम्बन्धी समस्या उत्पन्न हुन सक्छन्।

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) को नेतृत्वमा गरिएको उक्त अध्ययनमा बेलायत, नर्वे, स्विडेन, अस्ट्रेलिया, न्यूजिल्यान्ड र थाइल्यान्डका ४० वर्षभन्दा माथिका ४ हजारभन्दा बढी नयाँ स्तन क्यान्सर बिरामी सहभागी थिए।

वैज्ञानिकहरूले ‘प्रोसिग्ना’ नामक जीन परीक्षण प्रयोग गरेका थिए, जसले स्तन क्यान्सरको वृद्धिसँग सम्बन्धित ५० वटा जीनको गतिविधि मापन गरी रोग पुनः फर्किने जोखिमको मूल्यांकन गर्छ।

कम जोखिम स्कोर प्राप्त गरेका, अर्थात् अध्ययनमा सहभागी करिब दुईतिहाइ बिरामीलाई किमोथेरापी दिइएन। पाँच वर्षपछि उनीहरूको जीवित रहने दर ९३.७ प्रतिशत रहेको पाइयो, जबकि किमोथेरापी प्राप्त गर्ने बिरामीहरूको जीवित रहने दर ९४.९ प्रतिशत थियो।

स्तन क्यान्सरको प्रारम्भिक उपचार सामान्यतया शल्यक्रियामार्फत ट्युमर हटाएर गरिन्छ। त्यसपछि रोग पुनः फर्किने जोखिम कम गर्न किमोथेरापी सिफारिस गरिन्छ। तर स्तन क्यान्सरको सबैभन्दा सामान्य प्रकारमा किमोथेरापीबाट अपेक्षाकृत कम लाभ हुनेबारे चिकित्सकहरू चिन्तित रहँदै आएका छन्।

navjiwan hospital

यूसीएलका अनुसार अध्ययनको नतिजा कार्यान्वयन भएमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत हरेक वर्ष ५ हजारभन्दा बढी बिरामीले अनावश्यक किमोथेरापीबाट बच्न सक्नेछन्।

अध्ययनमा सहभागी वेल्सको कार्डिफकी ६४ वर्षीया क्यारेन बोनह्यामले प्रोसिग्ना परीक्षणका कारण किमोथेरापी लिनु नपरेको बताएकी छन्। उनी विगत आठ वर्षदेखि रेडियोथेरापी र हर्मोन थेरापीमार्फत उपचाररत छन्।

उनले क्यान्सरको पहिचान र उपचारको प्रक्रिया अत्यन्त तनावपूर्ण हुने उल्लेख गर्दै भनिन्, ‘यसले मानिसलाई अनिश्चितताको संसारमा धकेलिदिन्छ। जीवनका प्राथमिकताहरू नै बदलिन्छन्, तपाईं केवल बाँच्न चाहनुहुन्छ।’

अध्ययनको नतिजा अमेरिकाको शिकागोमा आयोजित विश्वकै सबैभन्दा ठूलो क्यान्सर सम्मेलन अमेरिकन सोसाइटी अप क्लिनिकल अफ अन्कोलोजीको वार्षिक सभामा प्रस्तुत गरिने भएको छ।

प्रमुख क्यान्सर विशेषज्ञ डेभिड माइल्सले यी नतिजालाई ‘उपचार पद्धतिमा परिवर्तन ल्याउने’ उपलब्धि बताएका छन्।

उनले भने, ‘अब हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि धेरै बिरामीलाई किमोथेरापीबाट कुनै विशेष लाभ हुँदैन। त्यसैले उनीहरूलाई यसको आवश्यकता छैन।’

उनका अनुसार यो परीक्षणले किमोथेरापीबाट लाभ नपाउने महिलाहरूलाई स्पष्ट रूपमा पहिचान गर्न मद्दत गर्नेछ, जसले उनीहरूलाई अनावश्यक पीडा र दुष्प्रभावबाट जोगाउनेछ।

सन् २०२२ मा स्तन क्यान्सर पुष्टि भएर किमोथेरापी उपचार लिएकी तान्या हटसनले नयाँ डीएनए परीक्षणलाई ‘अद्भुत उपलब्धि’ बताएकी छन्। उनले अनुसन्धानमा लगानी गर्दा यस्ता महत्वपूर्ण परिणाम प्राप्त हुने उल्लेख गर्दै किमोथेरापी आफूका लागि अत्यन्त कठिन अनुभव भएको बताइन्।

यूसीएलका अनुसार यो परीक्षणको प्रभाव ४० वर्षभन्दा कम उमेरका बिरामीमा पनि समान रूपमा लागू हुन्छ वा हुँदैन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। त्यसबारे निष्कर्ष निकाल्न थप केही वर्ष लाग्ने बताइएको छ।