खाेज्नुहाेस

कञ्चनपुरमा पुनः कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री

Image

कञ्चनपुर– कञ्चनपुरमा कोटा प्रणाली अनुसार किसानलाई मल बिक्रि वितरण गर्ने व्यवस्था अघि बढाईएको छ । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया कोटा प्रणाली मार्फत बिक्रिवितरण गर्ने गरी अघि बढाएको हो ।

हाल शाखाको गोदाममा १ हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको छ । सो मौज्दात रासायनिक मल पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगरले जनाएको छ ।

attariya hospital
navjiwan hospital

शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको बताए । उनले सहकारीहरुलाई मौज्दात मल कोटा अनुसार निर्धारण गरिएको भएपनि सहकारीहरुले समयमै नउठाउँदा गोदाममा थन्किएको बताए । ‘कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाको मल दश दिनभित्र उठाइसक्नुपर्ने हुन्छ,’ उनले भने ‘तर सहकारीहरुले निर्धारित समयमा मल नउठाउँदा गोदाममा मौज्दात रहन गएको छ ।’

उनका अनुसार गत साउनदेखि हालसम्म शाखाले युरियाको ९ कोटा र डिएपीको ७ कोटा वितरण गरिसकेको छ । १ कोटा बराबर ५०० मेट्रिक टन मल हुने उनले बताए । मौज्दात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्राचार गरिएको उनले बताए ।

उनले केही मल साल्ट ट्रेडिङसँग पनि उपलब्ध रहेकाले यस वर्ष धान खेतीका लागि मल अभाव नहुने विश्वास लिएको बताए । शाखाले आगामी आवश्यकतालाई दृष्टिगत गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । सो माग गरिएको थप मल पनि असारभित्र आउने आश्वासन पाएको जोशीले बताए ।

पछिल्ला वर्षमा खेतीको मुख्य समयमा रासायनिक मल अभाव हुने समस्या दोहोरिँदै आएको अवस्थामा यस वर्ष मौज्दात मलले किसानलाई केही राहत हुने भएको छ ।