अछाम– अछाममा चार दिनदेखि बेपत्ता भएकी युवती जङ्गलमा मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार जिल्लाको मंगलसेन नगरपालिका–१३ बुडाबाँडाकी जितु साउँदकी १७÷१८ वर्षीया छोरी अमृता साउँद घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार जेठ ५ गते साँझ करिब ५ बजे ‘दाउरा लिन जान्छु’ भनेर घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन् । खोजीका क्रममा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक दिनेशप्रसाद रिमालले बताएका छन् । घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।















