खाेज्नुहाेस

जसपा नेपाल र लोसपाबिचको एकतालाई निर्वाचन आयोगले दियो मान्यता

Image

काठमाडौँ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकतालाई निर्वाचन आयोगले मान्यता दिएको छ । गत पुस २७ गते जसपा नेपाल र लोसपा नेपालबिच औपचारिक रूपमा एकता घोषणा भएको थियो । निर्वाचन आयोगलाई दुई पार्टीबिच एकता भएको जानकारी गराउँदै फागुन २१ सम्पन्न चुनावमा दुवै पार्टी एकीकृत रूपमा सहभागी भएका थिए ।

navjiwan hospital

तर एकताका लागि बुझाएको कागजातमा केही नेता दुई वटा पार्टीमा रहेको देखिएको भन्दै त्यसलाई स्पष्ट गर्न तथा अन्य अपुग कागजात निर्वाचन आयोगले जसपा नेपालसँग माग गरेको थियो । अपुग सबै कागजात आयोगमा बुझाएपछि त्यसको आधिकारिताको पत्र बुधबार प्राप्त भएको सो पार्टीका नेता शैलेन्द्र साहले बताए । यसअघि भएको एकता प्रक्रियामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी पनि सहभागी थिए, तर अहिले निर्वाचन आयोगले दिएको मान्यतामा उनीहरूको पार्टी समावेश छैन ।

attariya hospital

नेता डा.सुरेन्द्र झाले भने, ‘तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले यसअघि नै विज्ञप्ति जारी गरेर पार्टी एकताबाट अलग भएको घोषणा गर्नुभएको थियो । उहाँलाई समावेश गर्ने कुरा नै भएन । यता त्रिपाठीजीले आफ्नो पुरानो पार्टी बन्द नगराएको कारण यो एकता प्रक्रियामा तत्काल समावेश हुन नसक्नु भएको हो ।’ निर्वाचन आयोगमा जनता प्रगतिशील पार्टी पनि अस्तित्वमा रहेको कारण एउटै व्यक्ति दुई ठाउँमा रहन नसक्ने भएकाले अहिलेको एकता प्रक्रियामा त्यो पार्टीलाई समावेश नगराएको झाले बताए । अध्यक्ष त्रिपाठीले निर्वाचन आयोगमा दर्तामा रहेको जनता प्रगतिशील पार्टी बन्द गराएपछि जसपा नेपालमा समावेश गराइने उनको भनाइ छ ।

अर्का नेता साहले जसपा नेपाल र लोसपा नेपालबिच एकता भएकोबारे निर्वाचन आयोगले संघीय संसद् सचिवालय तथा प्रदेश सभा सचिवालयहरूलाई पनि जसपा नेपाल र लोसपा नेपालबिच एकता भएको जानकारी पठाइसकेको बताए । निर्वाचन आयोगको यो निर्णयले अब प्रदेशहरूमा पनि एकता टुङ्गो लाग्ने उनको भनाइ छ । एकता प्रक्रिया टुङ्गो लागेसँगै जसपा नेपालको कार्यान्वयन समिति ५४ सदस्यीय भएको छ । त्यसमा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव छन् भने बाँकी सबै जना सदस्य छन् ।