
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको स्वास्थ्यमा अचानक समस्या आएर नीति तथा कार्यक्रम छोडेर गएको हो भने स्वास्थ्य जाँच गरेर संसदलाई जानकारी गराउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री बालेनले अमर्यादित व्यवहार देखाएको बताए ।
‘आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ । यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिऊँ कि दु:ख व्यक्त गरौँ, सभामुख महोदय ?,’ उनले भने, ‘सामाजिक सञ्जालमा लाखौँले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनुभयो भनेर म सोझै भन्न चाहन्नँ । यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थस्थिति गम्भीर बनेकाले उहाँ हिँड्नुभएको होला । त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो, अविलम्ब स्वास्थ परीक्षण गरेर संसदलाई जानकारी गराइयोस् ।’



















