काठमाडौँ – पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको ३० अर्ब घोटालाबारे आफूलाई निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् । सोमबार संसदको अधिवेशनमा बोल्दै खरेलले आफूमाथि लागेको आरोपबारे आपत्ति जनाएका हुन् ।

‘म आज मात्रै स्विजरल्याण्डको भ्रमण सकेर आएको छु । विदेश भ्रमणबारे सभापतिलाई लिखित जनाकारी दिएर विदेश गएको थिएँ । मेरो विदेश भ्रमणबारे एक समाचार दैनिकले स्मार्ट टेलिकमको ३० अर्ब मिलाउन सुटुक्क स्विजरल्याण्ड गएको भनेर आरोप लगाइयो’, खरेलले भने, ‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी त के एउटा मिटिङ मात्र राखेको प्रमाणित भएमा म राजनीतिबाट बिदा लिन्छु ।’

खरेलले सी ग्रेडको पत्रकारिता नगर्न सम्बन्धित सञ्चार माध्यमलाई चेतावनी दिएका छन् । यस आरोपले संसद्, पार्टी र आफ्नो ठुलो अपमान भएको भन्दै उनले प्रेस काउन्सिललाई तत्काल कारबाही अगाडि बढाउन आग्रह गरे ।
















