अत्तरिया – अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था को वैशाख २६ गते शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य अन्तिम चरणमा पुर्याइएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार निर्वाचन शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचनमा कुल ५ हजार ७ सय ४२ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

मतदान संस्थाकै परिसरमा हुने व्यवस्था मिलाइएको छ। मतदातालाई सहज र व्यवस्थित रूपमा मतदान गराउन बुथ नम्बर, क्रम संख्या तथा लाइन व्यवस्थापन मिलाइएको संस्थाले जनाएको छ। साथै मतदान स्थलमा आवश्यक सुरक्षा, स्वयंसेवक परिचालन तथा अन्य आधारभूत व्यवस्थासमेत पूरा गरिएको बताइएको छ।
निर्वाचनमार्फत संस्थाको नयाँ नेतृत्व चयन हुने भएकाले उपभोक्ताहरूमा समेत उत्साह देखिएको छ।

















