खाेज्नुहाेस

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी सशङ्कित

Image

अत्तरिया – हातमा अव्यवस्थित बसोबासीको निवेदन दर्ताको निस्सा लिएर गोदावरी नगरपालिका – १ को वडा कार्यालय पुगेका भोज राज भाट निराश देखिन्थे । २ वर्ष अघि अव्यवस्थित बसोबासीको फारम भरेर जग्गाको समेत नापी भएको बताउने उनी लालपुर्जा पाइने हो वा होइन भन्नेमा दोधारमा थिए । वडा कार्यालयले सङ्कलन गरेका विवरण सार्वजनिक गर्दै त्रुटि भएमा सच्चाउनका लागि निवेदन माग गरेपछि उनी आफ्नो निवेदन दर्ताको निस्सा र नागरिकता लिएर वडा कार्यालय पुगेका थिए ।

२ हजार ५८० जनाको भित्तामा टाँसिएको लिस्टमा आफ्नो नाम खोजेर त्रुटि नभेटाए पनि आफूले चलनभोग गरिरहेको जग्गाको लालपुर्जा पाउने नपाउनेमा भने उनी दोधारमा देखिन्थे । ‘आधा कट्ठा ऐलानी जग्गामा बसेका छु । हामीले कटान काटेको पनि होइन । न जग्गा कब्जा गरेर नै बसेका हौ’ चैतन्यपुरमा बस्दै आएका उनले भने ‘पसिना बगाएर कमाएको पैसाले बच्चाहरूको भविष्य हेरेर यहाँ जग्गा जोडेको हो । लालपुर्जा पाउने आशामै छु ।’ उनले सरकारले जग्गाको लगत सङ्कलन गरेर नापी समेत गरेकाले लालपुर्जा पाउने आशामा रहेको बताए ।

attariya hospital

अत्तरियाको वनखेतका पदम राज भट्टले ४० वर्ष देखि जग्गा भोगचलन गरेको भए पनि बालेन शाहको सरकारले उठाउने हो कि भन्नेका सशङ्कित छन् । उनले अहिले बालेन शाहको सरकारले हटाउने हल्ला सुनिएकाले के हुने हो भन्ने चिन्ता भएको बताए । ‘४० वर्षदेखि ऐलानी जग्गामा बसेको छु । अहिले त्यसमा कोही डोजर लगाइदिन्छन् भन्छन् कोही केही भन्छन्’ उनले भने ‘३÷४ दिन भयो चिन्तामा खाना पनि राम्रो सँग खान पाएको छैन ।’ उनले अन्त कतै जग्गा नभएको बताउँदै आफूले भोगचलन गरेको ऐलानी जग्गा पाउनु पर्ने बताए ।

navjiwan hospital

हाल वडा कार्यालयले २०८२ साउन ३० गतेको सूचना र त्यसअघिका सूचना बमोजिम जग्गा प्राप्तिका लागि भरिएका २ हजार ५८० जनाको विवरणमा कुनै त्रुटि भए सच्याउन भन्दै सूचना जारी गरेको छ । उक्त सूचना अनुसार नाम, नागरिकता नम्बर, अन्य विवरण फरक परेकाहरूको हाल वडा कार्यालयमा भिड लागेको छ ।

विवरण सच्याउन वडा कार्यालय पुगेकी चैत्यन्यपुरकी डम्बरा धामीले पनि अब भने सरकारले लालपुर्जा दिनुपर्ने बताइन । उनले पटक पटक लालपुर्जा दिने भनेर कहिले विवरण भराउने, कहिले सच्याउन लगाउने गर्दा गर्दै वर्षौँ बितिसकेको बताउँदै अहिले पनि भरेको विवरणमा त्रुटि भेटिए पनि पुन निवेदन दिन वडा कार्यालयमा पुगेको बताइन । ‘हामी वर्षौँ देखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको नापी पनि भइसकेको छ । तर, लालपुर्जा आज दिने भोलि दिने भन्दा भन्दै वर्षौँ बितिसकेको छ’ उनले भनिन् ‘अझ पनि सरकारले झुक्याउने काम गर्नु हुँदैन ।’

वडाध्यक्ष गोपाल दत्त भट्टले तत्काल लालपुर्जा वितरणको कुनै कार्यक्रम नभए पनि आफूहरूले सङ्कलन गरेका विवरणमा कुनै त्रुटि छ की भनेर सूचना जारी गरेको बताए । उनले वैशाख १५ गते जारी गरेको सूचना अनुसार धेरै मानिस वडा कार्यालयमा पुगेको बताउँदै मंगलबार सम्म त्रुटि भेटिएका २११ जनाका निवेदन पनि सङ्कलन गरिएको बताए ।

‘हामीले वडाभित्रका सङ्कलन गरेका २५८० जनाको विवरणमा कुनै त्रुटि भए सच्याउन या दाबी विरोध गर्न सूचना जारी गरेका हौ’ उनले भने ‘अहिले विवरणमा त्रुटि सच्याउनका लागि निवेदन सङ्कलन गर्ने काम मात्रै भइरहेको छ । यो विवरण सङ्कलन गरेर नगरपालिकामा पठाउँछौ ।’ नगरपालिकाको प्रवक्ता समेत रहेका उनले हाल केही वडाहरूले विवरण सङ्कलनका लागि सूचना निकालेको बताउँदै तत्काल विवरण सच्याएर अगाडी के गर्ने भन्ने बारेमा सङ्घीय सरकारकै निर्णयमा भर पर्ने बताए ।