अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चुनावी सरगर्मी बढेको छ । वैशाख २६ गते हुने निर्वाचनका लागि अहिले तीन अध्यक्षका उम्मेदवार प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । अध्यक्षमा हर्क बहादुर शाह, राजेन्द्र खड्का, गणेश शाह प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । ११ जनाको कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तीन प्यानल, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा १/१ जना र सदस्यामा २ जनाले गरेर ३८ जना चुनावी मैदानमा होमिएका छन ।
जसअनुसार अध्यक्षमा ३ उम्मेदवार हुँदा उपाध्यक्ष, महासचिव, कोषाध्यक्षमा ४/४ जनाको उम्मेदवारी परेको छ भने सचिवमा ३ जनाले उम्मेदवारी दिएका छन् । २ पुरुष सदस्यका लागि ७ र ४ महिला सदस्यका लागि १३ जना उम्मेदवार बनेका छन् ।

निर्वाचन आउन ४ दिन मात्रै वाकी रहँदा अहिले उम्मेदवार घरदैलोमा मत माग्न व्यस्त छन् । ५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि उम्मेदवार घरदैलोमा जाँदा अहिले अत्तरियामा बजारका चोक गल्लीमा निर्वाचनको रौनक छाएको छ ।
निर्वाचनमा रौनक छाउँदै गर्दा यस पटक पार्टीगत आबद्धताका आधारमा चुनावी प्रतिस्पर्धा गर्ने पुरानो परम्परामा भने ब्रेक लागेको छ । अहिले उम्मेदवारहरू विभिन्न पार्टीमा आबद्ध भए पनि आफूहरू स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएको दाबी गर्दै भोट मागिरहेका छन् ।
अध्यक्षका उम्मेदवार हर्क बहादुर शाहले आफू कांग्रेस भए पनि चुनावमा भने स्वतन्त्रको भूमिकामा रहेको बताए । उनले आफूले पार्टीबाट समर्थन लिएर चुनाव नलडेको बताए । ‘हामीलाई पार्टीले सहयोग गरेको, कुनै नेताले सहयोग गरेको छैन’ उनले भने ‘हाम्रो टिममा सबै कांग्रेस भए पनि हामी पार्टीभन्दा पनि स्वतन्त्र रूपमा चुनावमा होमिएका छौ ।’ उनले आफूहरूको टिममा कसैले पनि पार्टीगत आबद्धताका आधारमा खुलेर भोट नमागेको बताए ।

अर्को अध्यक्षका उम्मेदवार राजेन्द्र खड्का पनि नेपाली कांग्रेसमा आबद्ध भए पनि उनी पनि खुलेर पार्टीको समर्थन लिएर चुनावमा नहोमिएको बताए । उनले खानेपानीमा आफूहरूको स्वतन्त्र जुझारु युवाहरूको टिम भएको बताए । उनले आफूहरूको टिमलाई सबै पार्टीहरूको समर्थन रहेको बताए । उनको टिममा भने कांग्रेस, एमाले र माओवादीमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको छ ।
अर्का अध्यक्षका उम्मेदवार गणेश शाहले आफू कुनै पार्टीमा आबद्ध नभएकाले स्वतन्त्र उम्मेदवार भएको बताए । उनले आफ्नो पुरै प्यानल नै स्वतन्त्र व्यक्तिहरूको टिम भएको बताए । ‘म मान्छे स्वतन्त्र हो, नेतृत्व स्वतन्त्र भएपछि टिम नै स्वतन्त्र भइहाल्यो’ उनले भने ‘म स्वतन्त्र भएर समाजसेवामा लागेको लामो समय भइसक्यो । बाहिर विभिन्न भ्रम होलान् त्यस्तो केही पनि होइन ।’ उनले नेतृत्व स्वतन्त्र भएपछि टिममा कुन व्यक्ति कहाँ आबद्ध छ भन्ने कुराको खासै अर्थ नहुने बताए ।
१७ औँ साधारण सभा अन्तर्गत हुन लागेको निर्वाचनमा हर्क बहादुर शाहको टिमबाट उपाध्यक्षमा प्रेम सिंह कडायत, महासचिवमा धनराज विष्ट जोशी, कोषाध्यक्षमा नर बहादुर बलायर र सचिवमा मदन राज शर्मा (जोशी) रहेका छन् । सदस्यमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, मनीषा राना, शकुन्तला कुमारी पाण्डे, सुरज जोशी र उर्मिला बोगटी रहेका छन् ।
यस्तै राजेन्द्र खड्का नेतृत्वको टिममा उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्र नाथ योगी रहेका छन् । सदस्यमा रमेश कडायत, वीर बहादुर विश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, खिमा देवी ओझा र राधा विष्ट कुँवर रहेका छन् ।
गणेश शाह नेतृत्वको टिममा उपाध्यक्षमा पुष्प राज चटौत, महासचिवमा तीर्थ राज ओझा, कोषाध्यक्षमा बाबु राम बलमपाकी, सचिवमा टेक बहादुर मल्लले उम्मेदवारी दिएका छन् । सदस्यमा अमुना देवी चौधरी, हेमा कुमारी चन्द, हेमा नौन्याल, धना खत्री, चक्र बहादुर देउवा, तेज राज भट्टले उम्मेदवारी दिएका छन् ।
यस्तै गोरख बहादुर कडायतले महासचिव, राम दत्त भट्टले सदस्यमा व्यक्तिगत उम्मेदवारी दिएका छन् । कार्यसमितिको लागि उपाध्यक्षमा चन्द्र सिंह धामी, कोषाध्यक्षमा सुरेन्द्र बहादुर साउँद र सदस्यमा नन्दा देवी कामीले पनि उम्मेदवारी दिएका छन् ।



















