खाेज्नुहाेस

पूर्वमुख्यमन्त्री सोडारीविरूद्धको भ्रष्टाचार मुद्दामा मिसिल फाइल झिकाउने आदेश

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको गैर कानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल फाइल झिकाउने आदेश गरेको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिसिल फाइल झिकाउने आदेश दिएको हो । यसअघि विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

attariya hospital
navjiwan hospital

अख्तियारका अनुसार सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ठुलो परिमाणको सम्पत्ति आर्जन गरेका छन् ।

आयोगको अनुसन्धानबाट सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता लगायतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी रहेको देखिएको छ । तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी, चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको अख्तियारको दाबी छ ।

कुल आय र व्यय तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा स्रोत नखुलेको रकम रहेको आयोगको निष्कर्ष छ । आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ ।