अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ४ बुढीतोलामा आजदेखी पर्यटन महोत्सव आयोजना हुने भएको छ । बुढीतोला क्षेत्र पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिले आजदेखी बुढीतोलामा महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवको बिहान ११ बजे गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको छ । बैशाख २४ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनमा विभिन्न झाँकीहरुका साथ प्रभातफेरी निकालिने बताईएको छ ।


महोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको र बिहिबार बिहान ११ बजे समुद्घाटन हुने महोत्सव मुल आयोजक समितिका संयोजक हरिदत्त भट्टराईले जानकारी दिए । उनले महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बताए । ‘महोत्सवका स्टल, स्टेज लगायतका संरचनाहरु निर्माणको काम लगभग सकिईसकेको छ’ उनले भने ‘महोत्सवमा राष्ट्रिय कलाकारहरुका साथसाथै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।’
उनका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरु एलिना चौहान, पुस्कल शर्मा, कमल बिरही थापा, चक्र बम, रमेश राज भट्ट, टंक तिमल्सीना, ज्योती मगर, लाल बहादुर धामी लगायतका कलाकारहरुका साथै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहेनछ । उनले महोत्सवमा रमाईलो मेलाहरुका साथै बुढीतोला क्षेत्रका स्थानियहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्नका लागि नेपालीसेनासँगको सहकार्यमा स्वास्थ्य शिविर पनि रहने बताए । महोत्सवमा सुदूरपश्चिमका मौलिख नौमती बाजा, मारुनी नाँच, हुड्केली लगायतका नृत्यहरुको पनि प्रर्दशन रहे उनको भनाई छ ।
उनले बुढीतोलाको पर्यटकीय सम्भावनालाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको बताए । बुढीतोलाको ऐतिहासिक महत्व उजागर गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा लगानी भित्र्याउने महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए । उनले पर्यटकहरुका लागि एकदमै उपयुक्त वातावरण रहेको बुढीतोलामा आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई आकर्षित गर्न र उनिहरुलाई बुढीतोला क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको बारेमा जानकारी दिन महोत्सवले मुख्य भुमिका खेल्ने विश्वास व्यक्त गरे । ‘विशुद्ध रूपमा बुढीतोलालाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको हो’ उनले भने ‘बुढीतोलका पर्यटकीय क्षेत्र बन्दै छ भन्ने सन्देश दिन पर्यटन महोत्सव आयोजना गर्दै छ । यसको उद्देश्य बुढीतोलामा बढी भन्दा बढी पर्यटन भित्र्याउने रहेको छ ।’
उनले बुढीतोलामा ऐतिहासीक संग्रहालयको अवलोकन गर्ने, स्विमिङ पुलमा रमाउन र महोत्सव पछी आउने पर्यटकहरुका लागि घरघरमा होमस्टेको अवधारणा ल्याएको र त्यसको पनि प्रचार गर्न महोत्सव आयोजना गरिएको बताए । महोत्सवले बुढीतोला क्षेत्रका स्थानिय उत्पादनहरुको प्रचार प्रसार र ब्राण्डिङ गर्नमा मद्दत गर्ने बताए ।
उनले महोत्सवमा ६० वटा स्टल रहने बताए । महोत्सवमा सामान्य टिकट दर १ सय र विद्यार्थीलाई ५० तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।














