धनगढी – नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको सुरुवात गरेको छ ।

ई–वेस्ट प्रोसेसर ट्रेनिङ अन लोकल सोसियल पार्टनरसिप अन्तर्गत सुरु गरिएको यस दुई महिने कार्यक्रमको धनगढीले आइतबार एक समारोहका बिच ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले समुद्घाटन गरे ।

धनगढी उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालित यस तालिमको कार्यान्वयन टिकापुर बहुप्राविधिक शिक्षालयले गरिरहेको छ । यस महत्त्वपूर्ण शैक्षिक तथा प्राविधिक कार्यक्रमलाई काठमाडौँ विश्वविद्यालयले प्राविधिक सहयोग र ब्रिटिस काउन्सिलले आर्थिक सहयोग पुर्याएका छन् । तालिममा नगरका फोहोर व्यवस्थापन कर्मचारी र स्थानीय विद्युतीय व्यवसायी गरी कुल २० जना सहभागी रहेका छन् ।
तालिमको पाठ्यक्रम र सिकाउने विधिका बारेमा जानकारी दिँदै सिटिटिइभिटी टिकापुरका पारस खड्काले यसलाई पूर्णतः व्यवहारिक बनाइएको बताए । दुई महिनाको अवधिमा प्रशिक्षार्थीहरूले विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणहरूलाई वातावरणीय र सुरक्षाका मापदण्ड अनुरूप कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्ने बारेमा विस्तृत ज्ञान पाउनेछन् ।

















