धनगढी – दार्चुलाको मार्मा गाउँपालिका पुगेको धनगढी उपमहानगरपालिकाको अपि हिमाल बेस क्याम्प पदयात्रा टोलीको स्वागत गरिएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्किएको टोलीलाई मार्माका स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका हुन । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित निस्किएको टोली हाल दार्चुलामा प्रवेश गरी यात्रालाई अगाडि बढाइरहेको छ ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार धनगढीबाट प्रस्थान गरेको थियो । टोलीले अपि हिमाल क्षेत्रका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ ।

यसअघि उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा सुरु गरिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियानको निरन्तरताका रूपमा स्थानीय सरकारकै पहलमा यो यात्रा आयोजना गरिएको मेयर हमालले बताएका छन् । धनगढीमा औपचारिक कार्यक्रमबीच बाजागाजा र फूलमालासहित टोलीलाई बिदाइ गरिएको थियो ।
१० दिनको कार्यतालिकासहित निस्किएको टोलीले निर्धारित स्थानसम्म सवारी साधनमार्फत र त्यसपछि पैदल यात्रा गर्दै अपि हिमाल बेस क्याम्पसम्म पुग्ने योजना बनाएको छ । यस यात्राले सुदूरपश्चिमका ओझेलमा परेका हिमाली तथा पर्यटकीय सम्भावनाहरू उजागर गर्ने अपेक्षा गरिएको छ ।

















