बनबेहडा (कैलाली) – हेमा श्री फाउन्डेसन नेपालले आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै शैक्षिक सामग्री वितरण गरेको छ । स्थापना दिवसको अवसरमा फाउन्डेसनले विपन्न, आर्थिक अवस्था कमजोर र जेहेन्दार २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री झोला, कापी र कलम वितरण गरिएको हो ।
संस्थाका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर उप प्रमुख भोज बहादुर बम, विशिष्ट अतिथि वडा नम्बर ६ वडा अध्यक्ष टेक बहादुर कुँवर, महिला बालबालिका तथा सेभ हाउस अध्यक्ष जानकी मलासी र अमर माध्यमिक विद्यालयका अध्यक्ष दान बहादुर कुँवर रहेको थिए ।

उक्त स्थापना दिवस कार्यक्रममा बोल्दै नगर उप प्रमुख बमले विपन्न, आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै फाउन्डेसनले दिन दुःखीहरूका साथै विद्यार्थीहरूको सारथिको रूपमा काम गर्दै आएको बताए । उनले धेरै ठाउँमा फाउन्डेसनबाट सामाजिक सेवाको कार्य हुनु सुखद भएको बताउँदै झन् विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराइनु अत्यन्तै प्रंशसनिय कार्य भएको बताए ।

हेमा श्री फाउन्डेसनले पीडामा रहेका नेपालीहरूलाई सहयोग गर्दै आएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए । उनले फाउन्डेसनले पढ्न नपाएका असहाय बालबालिका, उपचार नपाएका व्यक्तिहरू, मिर्गौला पीडितहरूलाई सहयोग गर्दै आएको बताए । उनले फाउन्डेसनले बागेश्वरी असहाय बाल संरक्षण केन्द्र बाँके सँग सहकार्य गर्दै यस वर्ष देखि अनाथ बालबालिका पालनपोषण पनि गरिने बताए ।

कार्यक्रममा दृष्टी ग्रामीण विद्युत् सहकारीका अध्यक्ष वीर बहादुर शाह, नव दुर्गा सामुदायिक वनका अध्यक्ष चिरञ्जीवी छेडाल, विभिन्न विद्यालयका शिक्षक, फाउन्डेसनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । वडा भित्रका अमर माध्यमिक विद्यालय, कैलाली भिजन स्कुल, बिणा विद्या मन्दिर स्कुल, जुपिटर स्कुल र भैरव आधारभूत विद्यालयमा अध्ययनरत करिब २५ जना आर्थिक अवस्था कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
शैक्षिक सामाग्री झोला, कापी र कलम पाएपछि विद्यार्थीहरू खुसी हुँदै फाउन्डेसनलाई धन्यवाद व्यक्त गरेका छन् । फाउन्डेसनको वार्षिक कार्य प्रतिवेदन र स्वागत सभाध्यक्ष हेमन्त बाजेले गरेका थिए भने कार्यक्रमको सञ्चालन फाउन्डेसनका सचिव चक्रजित रावलले गरेका थिए ।


















