धनगढी – सुदूरपश्चिमबाट भारतीय सीमावर्ती क्षेत्रका बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या घटेको छ । सरकारले भारतबाट सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती नेपालबाट भारतीय बजारमा सामान किन्न जानेहरूको चहलपहल नाकामा ह्वात्तै घटेको हो ।
सुदूरपश्चिमका भारतसँग जोडिएका प्रमुख त्रिनगर भन्सार नाका र गड्डचौकी नाकाबाट भारतीय बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको सो क्षेत्रका व्यापारीहरू बताउँछन् । कञ्चनपुरको डोकेबजारमा व्यापार गर्दै आएका विमल चौधरीले अहिले त्रिनगर भन्सार नाकामा पहिलेका जसरी सामान किन्न जाने नेपालीहरूको सङ्ख्या घटेको बताए ।


उनका अनुसार धनगढी, अतरिया लगायतका ठाउँका स्थानीयहरू प्रायः सामान किन्न पारी भारतीय बजार बनगाउँ, पलिया जाने गर्थे । अहिले भने त्यो अवस्थामा सुधार भएको उनले बताए। ‘अहिले त नाकामा सय रुपैयाँ भन्दा बढीको सामान ल्याए, कर लाग्छ, कडाइ भएपछि भारतका बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको हो,’उनले भने ।
नेपालीहरु भारतका बजारमा सस्तो हुने भन्दै त्यहाँ किनमेलका लागि जाने गर्थे । अहिले कडाइ भएपछि झन्झट मानेर त्यहाँ जान छोडेका हुन् । सरकारको निर्देशनपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका नाकाहरूमा अहिले निगरानी बढाइएको छ ।
सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जानेहरूको संख्यामा ८० प्रतिशतले कमी आएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । उनका अनुसार अहिले गौरीफन्टा नाका भएर भारत जाने र सामान ल्याउने क्रममा उल्लेख्य गिरावट आएको हो ।
पहिले घरायसी प्रयोजनका लागि भन्दै भन्सार नतिरी सामान ल्याउन पाइने भए पनि अहिले थोरै मूल्यको सामानमा पनि कर तिर्नुपर्ने भएपछि सर्वसाधारणले स्थानीय बजारलाई नै प्राथमिकता दिन थालेका छन् ।

















