खाेज्नुहाेस

मुक्ति टोलवासीको प्रश्न ‘छाडा चौपायाबाट कहिले मुक्ति पाउँछौ’

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ३ मुक्ति टोलमा अधिकांश मुक्त कमैया परिवारको बसोबास रहेको छ । २०५७ साउन २ गते मुक्त कमैया घोषणा पछि २०५७ साउन १६ गते बसेको उक्त बस्तीमा अधिकांश परिवारका सदस्य अहिले पनि ज्याला मजुरीमा सहभागी भए पनि उनीहरूले सरकारले दिएको ५ कट्ठा जग्गामा तरकारी अन्न बाली खेती पनि गर्दै आएका छन् । तर, ज्याला मजदुरी भन्दा सहज रूपमा खेतीपाती गर्न सकिने भए पनि छाडा चौपायाका कारण भने उनीहरूले निकै सास्ती खेप्दै आएका छन् ।

स्थानीय साहुनी चौधरीले सरकारले छाडा चौपायाको व्यवस्थापन नगर्दा मुक्त कमैया शिविरमा खेतीपाती जोगाउन निकै समस्या हुने गरेको बताइन ।

attariya hospital

मंगलबार युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको आर्थिक तथा प्राविधिक सहयोगमा प्रोपव्लिक, गोदावरी नगरपालिका, सुशासन प्रवद्र्धनका लागि युवा र निड्स नेपालले आयोजना गरेको लैगिंकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ तथा सामुदायिक संवाद कार्यक्रम उनले छाडा चौपायाको समस्या कहिले समाधान हुने भनेर प्रश्न गरिन ।
‘हामीले सकेको जति तार बार पनि गरेका छौ । तर, छाडा चौपाया कहाँबाट बारीमा पस्छन् थाहा नै हुँदैन’ उनले भनिन ‘यसको समस्या समाधान हुन्छ कि हुँदैन ?’ छाडा चौपायाका कारण अहिले राजभर जाग्राम बस्नु परेको उनको गुनासो थियो ।

कार्यक्रममा राजमती चौधरीले बस्तीमा छाडा चौपायाको विकराल समस्या रहेको बताउँदै यसको समाधानका लागि सरकारले पहिले घरमा पालिएका चौपायाको विवरण राख्नुपर्ने बताइन । ‘घरमा पालिएका छाडा चौपायामा स्टिकर टाँसिनु पर्छ । जसबाट कसैले छाडा चौपाया छोडेको खण्डमा कसको हो भनेर सजिलै थाहा पाउन सकिन्छ’ उनले भनिन ‘यो काम सरकारले गरिदिए छाडा चौपायाको समस्या कम हुन्छ ।’

navjiwan hospital

कार्यक्रममा सहभागीहरूले मुक्ति टोलमा विकास निर्माण, सरकारी निकायमा भएका कमीकमजोरी पनि औँल्याएका थिए ।

राजमती चौधरीलेले अहिले पनि नपढेकालाई सरकारी कार्यालयमा सेवा लिन अप्ठ्यारो हुने गरेको गुनासो पोखिन । उनले स्थानीय सरकारबाट दिइने सेवा सबैले बुझ्ने गरी सहज रूपमा उपलब्ध गराउनु पर्ने बताइन ।

कार्यक्रममा सञ्जालकी अध्यक्ष पार्वती बोगटीले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्षले गाउँमा बनाउने कल्भर्ट अझै पुरा नभएको भन्दै सचेत गराइन । कार्यक्रममा सान्ती चौधरी, मञ्जु गैरालले पनि जनप्रतिनिधिलाई शिविरका समस्या सुनाएका थिए ।

निड्सकी परियोजना संयोजक सरिता थापाले सहजीकरण गरेको कार्यक्रममा वडा सदस्य तारा कुमारी टमटा र सचिव लोक बहादुर सोतीले सहभागिता प्रश्नको जवाफ दिएका थिए । वडा सदस्य टमटाले सुझावका लागि धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने कामका लागि आफू प्रतिबद्ध रहेको बताइन् । उनले जनताको सल्लाह र सुझाव सुन्नका लागि नै आफूहरू निर्वाचित भएको बताइन् । कार्यक्रममा ६० भन्दा बढी मुक्ति टोलका स्थानीयको सहभागिता रहेको थियो ।

उक्त मुक्ति टोलमा हाल १३२ परिवार मुक्त कमैया रहेको टोलका भलमन्सा दसी राम चौधरीले बताए । उनले सरकारले तत्कालीन समयमा ५–५ कट्ठाका दरले सरकारले जग्गा उपलब्ध गराएर बसाएको भए पनि हालसम्म रातो पुर्जा नपाएको बताए ।

‘हामी सँग कतै काम नलाग्ने सेतो पुर्जा त छ । यसले कुनै काम गर्न सकिँदैन’ उनले भने ‘अहिले सम्म पनि यहाँ अधिकांश मुक्त कमैया परियार ज्याला मजदुरीमा निर्भर रहेका छन् ।’ उनले मुक्ति टोलमा ३५ परिवार पहिले देखि नै पहाडी समुदायको पनि बसोबास रहेको बताए ।