अत्तरिया – अनलाइन गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न एक गोदावरीका एक युवक पक्राउ परेका छन । ठगी गरेको उजुरीपछि गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाट पक्राउ परेका हुन ।
अनलाइनमार्फत गेम खेलाएर रकम ठगी गरेको भन्दै कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले उजुरी दिएकी थिइन ।
अनुसन्धानका क्रममा अनलाइन गेममार्फत ठगी गरिएको रकम भाटको खातामार्फत कारोबार भएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बताए । ती महिलाबाट करिब दुई लाख पचास हजार रुपैयाँ लिएको छ ।


भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको थियो । यसमा ठूलो गिरोह संलग्न रहेको प्रहरीको भनाइ छ । उनीहरूले फेसबुकमार्फत गेम खेलाएर लाखौँ रुपैयाँ जितेको भनी प्रलोभन देखाउँदै उक्त रकम प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै अग्रिम रकम असुल्ने गरेका थिए।
प्रहरी स्रोतका अनुसार उक्त गिरोहले लामो समयदेखि फेसबुकमार्फत आकर्षक अफर देखाई सर्वसाधारणलाई प्रलोभनमा पार्दै ठगी गर्दै आएको खुलेको छ।
पीडित पक्षले सोमबार जाहेरी दर्ता गर्ने तयारी गरिरहेको र त्यसपछि अनुसन्धानलाई थप तीव्र बनाइने एसपी खत्रीले बताएका छन।















