खाेज्नुहाेस

गोदावरीमा अझै एक तिहाइ वडा कार्यालयका छैनन् आफ्नै भवन

Image

अत्तरिया – स्थानीय तहको पुनर्संरचना भएर जनप्रतिनिधिको दोस्रो कार्यकाल सकिन लाग्दा पनि अझै एक तिहाइ वडाले आफ्नै कार्यालय भवन निर्माण गर्न सकेका छैनन् । १२ वटा वडा रहेको गोदावरीमा ६ वडा आफ्नै भवनमा सञ्चालनमा आइसकेका छन् भने २ वडा एउटै भवनबाट सञ्चालन हुँदा ४ वडा कार्यालय अझै पनि भाडाको घरमा सञ्चालनमा छन् । वडा नम्बर २, ३, ६ र १० को वडा कार्यालय अझै भाडाको घरमा सञ्चालनमा रहेका छन् ।

जग्गाको जोहो गर्न नसक्दा ८ वर्ष देखि वडा नम्बर २ ले भाडाको घरमा कार्यालय सञ्चालन गरेको छ । वडामा एक कार्यकाल सकिएर दोस्रो पटक जनप्रतिनिधि निर्वाचित भएर आउँदा भाडाको घर फेरिए पनि आफ्नै भवन बनाउन भने अझै तदारुकता देखिएको छैन । हाल वडा कार्यालय भीमदत्त राजमार्ग छेउमा रहेको निजी घर भाडामा लिएर सञ्चालनमा रहेको छ ।

attariya hospital

वडा सदस्य डबल साउँदले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको बताए । उनले वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाबाट ३० लाख बजेट छुट्टाइएको बताउँदै वडा भित्रकै सार्वजनिक जग्गामा भवन निर्माण गरिने बताए । उनले पुरै भवन निर्माणका लागि रकम अपुग हुने भएकाले रकमले पुगे सम्मको भवनको संरचना निर्माण गर्नेको लागि उपभोक्ता समिति पनि गठन गरिएको बताए ।

navjiwan hospital

वडा नम्बर ३ पनि विगत ८ वर्षदेखि पूर्व पश्चिम राजमार्ग किनारामा रहेको निजी घरमा भाडामा सञ्चालनमा रहेको छ । उक्त वडामा वडाको भवन निर्माणको काम सुरु गरिएको भए पनि रकम अभावका कारण हाल अलपत्र अवस्थामा रहेको छ । वडा अध्यक्ष तेज राज अवस्थीले गत आर्थिक वर्षमा नगरपालिकाबाट छुट्टाइएको ३५ लाख रकमबाट वडा कार्यालयको ढलानको काम सकिएको भए पनि त्यसपछि बजेटको सुनिश्चितता नहुँदा काम अगाडि नबढेको बताए । उनले चालु आर्थिक वर्षमा बजेट काम हुने नहुने कुनै टुङ्गो नभएको बताए ।

वडा नम्बर ६ पनि विगत ८ वर्षदेखि नै पूर्व पश्चिम राजमार्ग छेउको निजी घरमा सञ्चालनमा रहेको छ । वडा सचिव अनिल चौधरीले चालु आर्थिक वर्षमा वडाको आफ्नो भवन बनाउनको लागि कुनै योजना नरहेको बताए । उनले हाल वडा कार्यालय मासिक भाडा तिर्ने गरी सञ्चालनमा रहेको बताए । उनले भने ‘मासिक ठ्याकै रकम त थाहा भएन १५ हजार जति पर्छ होला ।’

वडा नम्बर १० पनि चौकिडाँडा फल्टुडे सडक किनारामा रहेको निजी घरमा सञ्चालनमा रहेको छ । उक्त वडाको भवन निर्माणको प्रक्रिया भने अगाडि बढिसकेको वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले बताए । उनले भवनको केही दिनमा शिलान्यास गर्ने तयारी गरिएको बताए ।

८ वडाका आफ्नै भवन हुँदा वडा नम्बर १, ४, ९ र १२ को नयाँ भवन निर्माण गरिएको छ । जसमा वडा नम्बर १२ को भवन हालै निर्माण सम्पन्न गरेर आज उद्घाटन गरिँदै छ । वडा नम्बर ५, ७, ८ र ११ तत्कालीन गाविस भवनमा सञ्चालन गरिएका थिए । सुरुको ५ वर्ष नगरपालिका भवन नै भाडामा सञ्चालन गरिएको भए पनि हाल एडिबीको ऋण लगानीका निर्माण गरिएको भवनमा नगरपालिका सञ्चालन छ । उक्त भवन पनि जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा हालै मर्मत सम्पन्न गरेर सेवा प्रवाह गरिरहेको छ ।