अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता भएका बुबाछोराको शव फेला परेको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय पहलसिंह बूढा र उनका १३ वर्षीय छोरा नरी बूढा रहेका छन । दुवैजना वैशाख ३ गते डुङ्गा पल्टिँदा नदीमा बेपत्ता भएका थिए । उनीहरू कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर फर्कने क्रममा डुङ्गा दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनीहरूको खोजीकार्य जारी राखिएको थियो ।

सुर्खेतबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी नेतृत्वको ६ सदस्यीय गोताखोर टोली र नं. ४९ गुल्म हेडक्वाटर खप्तड अछामबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले घटनास्थलदेखि करिब ५०० मिटर टाढा पानीमुनिबाट शव निकालेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुवै शव फेला पारेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

















