धनगढी – कैलालीको चुरे गाउँपालिकामा मरेको बोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीम ताम्राकारको उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, बिहीबार मरेको कुखुराको मासु खाएपछि उनीहरू बिरामी परेका थिए । बिरामी परेपछि शुक्रबार मात्रै प्रहरीलाई खबर गरिएको र लगत्तै उनीहरूलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा दुवै दाजुभाइको मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

सोही मासु खाएका कारण मृतकका २८ वर्षीया आमा राधिका ताम्राकार र ३ वर्षीय भाइ दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन् । उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ताम्राकार परिवारले स्थानीय विकास पोल्ट्री फार्म बाट मरेको कुखुरा खरिद गरी खाएका थिए । घटना सार्वजनिक भएपछि फार्म सञ्चालक मङ्गल साउद आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन् । प्रहरीले उनलाई आवश्यक परेका बेला उपस्थित हुने गरी आफन्तको जिम्मा लगाएर छाडेको जनाएको छ । मरेको वा अस्वस्थ पशुपन्छीको मासु खानु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुने भन्दै चिकित्सकहरूले सचेत रहन आग्रह गरेका छन् ।
















