अत्तरिया – कैलालीको अत्तरियामा सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धिका लागि सर्वधर्मीय संवाद कार्यक्रम आयोजना गरिएको छ । आइतबार गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानले आयोजना गरेको चियापान तथा अन्तरक्रिया कार्यक्रममा सर्वधर्मीय संवाद गरिएको हो ।

वर्तमान राष्ट्रिय परिस्थितिको समीक्षा, धार्मिक सहअस्तित्व र सहकार्यको प्रवर्द्धन, सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धि, राष्ट्रहितका लागि साझा धारणा निर्माण गर्न आयोजित कार्यक्रममा विभिन्न धर्मका अगुवा, सामाजिक व्यक्तित्वहरूले आफ्ना धारणा राखेका थिए ।
लक्ष्मीनारायण मन्दिरका पुजारी हरि शङ्कर उपाध्यायले धार्मिक सद्भाव बोलीमा मात्रै नभएर व्यवहारमा लागू गर्नुपर्ने बताए । उनले कुनै पनि अवस्थामा भए पनि धार्मिक सद्भाव कायम गरेर अगाडि बढ्नु पर्ने बताए । उनले आफ्नो कल्याण भन्दा पनि सबैको कल्याण होस भनेर अगाडि बढे विश्वमा शान्ति कायम हुने बताए ।
मुस्लिम समुदायका अगुवा मोहम्मद गुलाम रब्बानीले बाल्यकालमा आफूहरूले लगाउने नारा ‘हामी नेपाली एक छौ’ भन्ने कुरालाई व्यवहारमा उतार्नु पर्ने बताए । उनले आज यस नाराको आवश्यकता रहेको बताए ।
इसाई समाज गोदावरीका अध्यक्ष डेबिट कैनीले देशमा शान्ति कायम हुनुपर्ने बताए । उनले देशले विगतमा १० वर्षे जनयुद्ध बेहोरिसकेकाले अव यस्ता द्वन्द्वमा फस्न नहुने बताए । ‘अहिले सम्म हामी मेलमिलापमा बसेका छौ’ उनले भने ‘हामीले अहिले सम्म कसैबाट दुर्व्यवहार बेहोरेका छैनौ । यसरी नै हामी मिलेर बस्न आवश्यक छ ।’

सन्त निरङ्कारी मण्डलका प्रचारक भीम विकले अरूको पराइको हित गर्नु धर्म भएकाले सबैले आजको अवस्थामा धैर्य धारण गरेर निकास निकाल्नु पर्ने बताए । मानवले मानवको कदर गर्नु नै मानवता भएकाले अहिले भइरहेको हिंसा अज्ञानता कारण भएको बताए ।
वैद्ध गुम्बा बनखेतका लामा गणेश मोक्तान हामीले कसैलाई होच्याउन नहुने बताए । उनले कर्म अनुसार सबैले काम गर्ने भएकाले धर्म सानो ठुलो भनेर होच्याउन नहुने बताए ।
ओम शान्तिकी सदस्य निर्मला चटौतले आपसमा सद्भाव, मेलमिलाप हुनु नै धर्म भएको बताइन । उनले अहमको भावना हुँदा धर्ममा समस्या हुने बताइन । अहमताले नराम्रा कर्म गराउने भएकाले त्यसलाई त्याग्न आवश्यक रहेको उनले बताइन ।
कार्यक्रममा विभिन्न क्षेत्रका धार्मिक अगुवाहरूले पछिल्लो परिस्थितिलाई मध्यनजर गरेर धार्मिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए ।















