खाेज्नुहाेस

बझाङमा श्रमदान गरेर डेढ किलोमिटर पदमार्ग निर्माण

Image

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको चर्चित पर्यटकीय गन्तव्य बारिल छडा झरना पुग्ने पदमार्ग स्थानीय युवाले श्रमदानबाट निर्माण गरेका छन् । दैनिक चार–पाँच सय पर्यटक पुग्ने झरनामा साँघुरो, चिप्लो र झाडीले ढाकिएको बाटोका कारण दुर्घटनाको जोखिम बढेपछि जयपृथ्वी नगरपालिकाका ५० भन्दा बढी युवाले दुई दिन श्रमदान गरेर करिब डेढ किलोमिटर पदमार्ग फराकिलो र सुरक्षित बनाएका हुन् ।

स्थानीय युवा नरेन्द्र खड्काको अगुवाइमा पदमार्ग निर्माण गरिएको हो । साँघुरो बाटो, झाडी, सिस्नो र ढुंगाका कारण हिँड्न कठिन हुने तथा वर्षायाममा पर्यटक चिप्लिएर लड्ने घटना बढ्न थालेपछि युवाहरू आफैं अग्रसर भएर बाटो सफा गर्नुका साथै सहज आवतजावत हुने गरी चौडा बनाएका हुन् । यसअघि साँघुरो बाटोमा एकअर्कालाई छलेर हिँड्नुपर्ने, वर्षामा चिप्लिने र झरनासम्म पुग्नै कठिन हुने अवस्था थियो ।

attariya hospital

पदमार्ग निर्माणसँगै युवाहरूले झरनानजिकैको खुला चौर पनि व्यवस्थित गरेका छन् । सडक निर्माणका क्रममा खसेका ठूला ढुंगा हटाएर बस्न मिल्ने पर्खाल र चौतारो निर्माण गरिएको छ । स्थानीय हिटुक तामाङका अनुसार यसले पर्यटकलाई विश्राम, पिकनिक र सामूहिक कार्यक्रम गर्न सहज बनाएको छ ।

navjiwan hospital

बारिल छडा झरना पछिल्ला केही वर्षयता बझाङकै सबैभन्दा लोकप्रिय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । जयपृथ्वी नगरपालिका–९ मा रहेको झरना जिल्ला सदरमुकाम चैनपुरबाट करिब १५ मिनेटको सडक यात्रामै पुगिन्छ । रिठापाटा–सुर्मा सडक चौडा भएर बाह्रै महिना सञ्चालनमा आएपछि यहाँ पुग्ने पर्यटकको संख्या निरन्तर बढिरहेको छ ।

स्थानीय शंकर बोहराका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन एकै दिनमा एक हजारदेखि डेढ हजारसम्म पर्यटक झरना पुग्ने गरेका छन् । उनका अनुसार केही वर्षअघिसम्म झरनामाथिको बस्तीबाट मरेका पशुचौपाया र अन्य फोहोर यहीँ फाल्ने गरिन्थ्यो । पर्यटक आउन थालेपछि त्यो अभ्यास पूर्ण रूपमा रोकिएको छ ।

पर्यटकको चहलपहल बढेसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ । झरना जाने बाटोमा अहिले एक दर्जनभन्दा बढी होटल, रेस्टुरेन्ट र चियापसल सञ्चालनमा आएका छन् । स्थानीय कृषकले आफ्ना कृषि उत्पादन बिक्री गर्न थालेका छन् भने युवाले फोटो तथा भिडियो खिच्ने जस्ता पर्यटनसँग सम्बन्धित साना व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् ।

यद्यपि पर्यटकको संख्या निरन्तर बढ्दै गए पनि आधारभूत पूर्वाधार निर्माणमा नगरपालिका उदासीन रहेको स्थानीयको गुनासो छ । ‘यति धेरै मानिस आउने ठाउँमा एउटा सार्वजनिक शौचालयसम्म छैन । जिल्लाकै चर्चित गन्तव्यको यस्तो अवस्था हुँदा पनि नगरपालिकाले चासो नदिनु दुःखद हो,’ स्थानीय युवा अशोक मल्लले भने, ‘कम्तीमा आधारभूत सुविधा निर्माणमा नगरपालिका अघि बढ्नुपर्छ ।’