कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ३ लाख ६६ हजार रुपैयाँ बराबरका सामान बरामद गरी भन्सार कार्यालय पठाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ जिमुवा रोडबाट २ लाख ८ हजार रुपैयाँ बराबरका इलेक्ट्रोनिक स्कुटर, कस्मेटिक, हार्डवेयर सामान, बिजुलीका सामान, फलफूललगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको थियो। उक्त सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–४ गुलरिया बजारबाट १ लाख ५८ हजार ७ सय रुपैयाँ बराबरका दुई थान मोटरसाइकल, साडी, धोती, सुट, कुर्तीलगायतका सामान बरामद गरेको छ।
बरामद सामानसँगै चार जना मानिसलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

















