खाेज्नुहाेस

गोदावरीको आधारभूत तहको नतिजामा सामान्य सुधार

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नतिजामा सामान्य सुधार भएको छ । नगरमा पछिल्लो शैक्षिक सत्रको नतिजाको तुलनामा यस चालु शैक्षिक सत्रमा करिब साढे ३ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । शैक्षिक सत्र २०८२ मा गोदावरीबाट कक्षा ८ मा ३ हजार १३९ विद्यार्थी सहभागी भएकोमा १ हजार ८ सय २६ अर्थात् ५८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अनुत्तीर्ण भएका १ हजार ३१३ मध्ये ७८३ विद्यार्थी ग्रेड वृद्धिका लागि सहभागी हुन सक्ने नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमुख प्रयाग राज जोशीले बताए ।

अघिल्लो शैक्षिक सत्रमा शैक्षिक सत्र २०८१ मा कुल ३ हजार १४८ विद्यार्थी सहभागी भएकोमा १ हजार ७२० अर्थात् ५४.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अघिल्लो शैक्षिक सत्रको तुलनामा चालु शैक्षिक सत्रमा ३.५४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।

attariya hospital

शैक्षिक सत्र २०८० मा भने ४३.७५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । कुल २ हजार ६२७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ हजार १४५ विद्यार्थी उत्तीर्ण भएका थिए । गोदावरी नगरपालिकामा शैक्षिक सत्र २०८० देखि नगरपालिका मार्फत उत्तर पुस्तिका जाँच गर्न सुरु गरिएको थियो । यसअघि सम्बन्धित विद्यालयमा उत्तर पुस्तीका जाँच हुँदा ९५ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण हुने गरेका थिए । शैक्षिक सत्र २०८० मा नगर स्तरमा उत्तर पुस्तीका जाँच गर्दा एक्कासि नतिजा घटेपछि पछिल्ला ३ शैक्षिक सत्रमा नतिजामा सुधार हुँदै गएको छ ।

संस्थागत यथावत् सामुदायिकमा सुधार

navjiwan hospital

चालु शैक्षिक सत्रमा समग्रमा ५८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि सामुदायिकको तुलनामा संस्थागत विद्यालयको उत्तीर्ण दर दोब्बर बढी छ । सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका ४०.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा संस्थागत विद्यालयबाट भने ८६.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरका ३३ वटा सामुदायिक विद्यालयबाट १ हजार ९४५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७९३ विद्यार्थी उत्तीर्ण भएका थिए । संस्थागत २९ विद्यालयबाट १ हजार १९४ विद्यार्थी सहभागी भएकोमा १ हजार ३३ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यद्यपि अघिल्लो शैक्षिक सत्र २०८१ को नतिजा तुलना गर्दा सामुदायिक विद्यालयको नतिजामा सुधार आए पनि संस्थागत विद्यालयको यथावत् रहेको छ । शैक्षिक सत्र २०८१ मा वर्ष सामुदायिक तर्फ ३० र संस्थागत तर्फ २९ विद्यालय सहभागी भएका थिए । जसमा संस्थागत तर्फ ८६.०५ प्रतिशत उत्तीर्ण हुँदा सामुदायिक तर्फ ३६.६३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष सामुदायिक तर्फ ४.१४ प्रतिशतले नतिजामा सुधार आएको छ । नगरपालिकामा शैक्षिक सत्र २०८० मा भने संस्थागत तर्फ ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सामुदायिक तर्फ ३०.३५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

२० विद्यालयको नजिता औसत भन्दा कम

सामुदायिक तर्फ औसतमा ४०.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि विद्यालयहरू बिच नतिजाको अन्तर भने फराकिलो रहेको छ । सामुदायिक तर्फ सबैभन्दा धेरै घण्टेश्वर माविबाट ७६.९२ प्रतिशत विद्यार्थी हुँदा सबैभन्दा कम चाँदनी आवबाट ७.६९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।

घण्टेश्वर माविबाट कक्षा ८ मा ५२ जना विद्यार्थी सहभागी भएकोमा ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा कमजोर नतिजा ल्याएको चाँदनी आविबाट १३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

समग्रमा २० वटा सामुदायिक विद्यालयमा औसत भन्दा कम अर्थात् ४० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् भने १२ वटा सामुदायिक विद्यालयबाट मात्रै औसत भन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।