अत्तरिया – देशका अन्य ६ वटै प्रदेशमा मेडिकल कलेज बनिसक्दा पनि सुदूरपश्चिमलाई बेवास्ता गरिएको मुद्दाले कैलालीको गेटामा अहिले देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय जन्माएको छ । सुदूरपश्चिमले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पाउँदा एकातिर यो कार्यान्वयनमा कहिले आउला भन्ने दोधार कायमै छ भने अर्कोतर्फ कार्यान्वयनमा आए सुदूरपश्चिमका जनताले के विशेष अधिकार पाउँछन् भन्ने प्रश्न अनुत्तरित छ । देशमै स्वास्थ्य शिक्षामा पछि परेको सुदूरपश्चिमले देशलाई नै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय दिँदा यो विश्वविद्यालयले सुदूरपश्चिमलाई के विशेष अधिकार देला सुदूरपश्चिमलाई लक्षित गरेर कस्तो नीति बनाउला भन्ने प्रश्न अहिले जनमानसमा छ ।
पछाडि पारिएको सुदूरपश्चिमले व्याज सहित क्षतिपूर्ति सहित नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय पाउनु पर्छ भन्दै आवाज उठाउँदै आएको तत्कालीन विश्वविद्यालय सङ्घर्ष समितिको नेतृत्व गर्दै आएका लोक राज पाण्डेले अहिले सुदूरपश्चिमले पाउने विशेषाधिकारको मुद्दा मुख्य बनेको बताए । उनले लामो सङ्घर्ष पनि ठुलो उपलब्ध हासिल भएको बताउँदै अब सुदूरपश्चिमले व्याज सहितको २५ प्रतिशत स्कलरसिप (छात्रवृत्ति) पाउनु पर्ने बताए । उनले लामो समय देखि राज्यले पछि पारेको यो क्षेत्रको समान पहुँचका लागि शिक्षणका कार्यक्रममा स्कलरसिप आवश्यक पर्ने बताए । विश्व विद्यालय ऐनमा यो विषय नसमेटिएको बताउँदै उनले अब बन्ने नीति कार्यक्रममा यो विषय समेट्न आवश्यक रहेको बताए ।


यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने विश्वविद्यालय सभाका सदस्य डा. डम्बर बहादुर पालले सुदूरपश्चिमलाई विशेषाधिकार दिनुपर्नेमा आफूहरू स्पष्ट भए पनि हालसम्म त्यसले कानुनी रूप नलिएको बताए । उनले हालसम्म बसेको २ वटा सिनेट बैठकमा यस विषयमा छलफल नभए पनि अबको बैठकहरूमा भने यस विषयलाई उठाउने बताए । ‘अहिले सम्मका बैठकमा उपकुलपति, रजिस्ट्रार नियुक्तिमा केन्द्रीय भए’ उनले भने ‘अब हामीले सुदूरपश्चिमले पाउनुपर्ने विशेष रिजर्भेसनका विषयमा कुरा उठाउँन्छौ ।’
कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खेम राज कोइरालाले विश्वविद्यालयको ऐन भित्र रहेर वा व्यवहारिक रूपमा के कसरी गर्न सकिन्छ सुदूरपश्चिमले २५ प्रतिशत आरक्षण पाउनु पर्ने बताए । ‘सुदूरपश्चिम शिक्षामा पनि पछाडि छ स्वास्थ्यमा पनि पछाडि छ रोजगारीका दृष्ट्रिकोणले पनि पछाडि छ’ उनले भने ‘हामी पछाडि परेको क्षेत्र भनेर हामीले विशेषाधिकार प्राप्त गर्छौ या गर्दैनौ म विशेष रूपमा पहल गर्ने छु ।’ उनले यसका लागि यस क्षेत्रका जनताको साथ आवश्यक रहने बताए ।
उनले विगतमा संरचना निर्माण देखि हालको अवस्था सम्म पुगाउन भूमिका खेल्ने सबैलाई धन्यावाद दिँदै अब गेटा विश्वविद्यालय सञ्चालनमा आउने कुरामा ढुक्क हुन आग्रह गरे । उनले भने ‘आगामी आर्थिक वर्षमा यहाँबाट माग गरिएको २ अर्ब ५८ करोड आवश्यक छ त्यो बजेट उपलब्ध गराउँछौ भनेर प्रधानमन्त्री र अर्थमन्त्रीबाट प्राप्त गरिसकेकाले अब यसमा शङ्का गर्नुपर्ने ठाउँ छैन ।’
यसैबिच आज (बुधवार) गेटामा विश्वविद्यालय सभाको बैठक बस्दै छ । यसअघिका दुई विश्वविद्यालय सभाको बैठक संघीय राजधानीमा बसेकोमा पहिलो पटक गेटामै सभाको बैठक बोलाइएको छ । बैठकमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली, कार्यविधि पास गर्ने तयारी छ । उक्त सभाको अध्यक्षता विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री हुने व्यवस्था अनुसार शिक्षामन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ । जसका लागि उनी मंगलबार नै सुदूरपश्चिम पुगिसकेका छन् । विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी गरिएको बताइएको छ ।

















