धनगढी – कैलालीको धनगढीमा मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध नियन्त्रण र सीमाना क्षेत्रमा हुने अपराध नियन्त्रणसम्बन्धी छलफल गरिएको छ । आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आयोजनामा छलफल गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको प्रमुख आतिथ्य आयोजित छलफल कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।


अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसार जस्ता जघन्य अपराध न्यूनीकरणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिएका थिए । त्यसैगरी, लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने र सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न कडा निगरानी आवश्यक रहेको विषयमा पनि छलफल गरिएको थियो ।
कार्यक्रममा प्रहरी प्रमुख रानाले समाजमा बढ्दो अपराध नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय, स्थानीय तह र सरोकारवाला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै समन्वयात्मक प्रयासलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

















