खाेज्नुहाेस

नेपाल पत्रकार महासंघ कैलाली शाखाले मनायो स्थापना दिवस, ५ बुँदे घोषणापत्र जारी

Image

अत्तरिया – नेपाल पत्रकार महासंघ कैलाली शाखाले ७१ औँ स्थापना दिवस मनाएको छ । सोमबार धनगढीमा आयोजित एक कार्यक्रमका बिच स्थापना दिवस मनाइएको हो ।

‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने नाराका साथ मनाइएको उक्त कार्यक्रमबाट ५ बुँदे घोषणापत्र पनि जारी गरिएको छ ।

attariya hospital
navjiwan hospital

घोषणा पत्रको पहिलो बुँदामा नेपाल पत्रकार महासंघ कैलाली शाखाको स्थापनादेखि अहिलेसम्म योगदान दिएका हाल दिवङ्गत भएका संस्थापक सभापति अम्बिकाप्रसाद उपाध्याय, लिलानाथ ओझासहित सबै दिवङ्गत पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । यस्तै दुई नम्बर बुँदामा नेपाल पत्रकार महासंघ कैलाली शाखा नागरिकको सूचनाको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको हकहित र सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको घोषणा गरिएको छ ।

तेस्रो बुँदामा पत्रकार महासंघ कैलाली शाखा पत्रकारहरूलाई पत्रकारका सिद्धान्त, नैतिकता र आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र उत्तरदायी पत्रकारिताका लागि सबै पत्रकार र सञ्चार गृहसँग अनुरोध गरिएको छ भने चौथो बुँदामा वर्तमान बदलिएको राजनीतिक अवस्थामा सरकारले सुशासन, पारदर्शिता र जबाफदेहीताका लागि चालेका सबै सकारात्मक कदमको समर्थन गर्दै स्वतन्त्र प्रेस, नागरिक अधिकार तथा वाक तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्ने हरेक संरचना र अभ्यास तथा नीतिप्रति सरकार पूर्ण प्रतिबद्ध रहने विश्वास व्यक्त गरिएको छ ।

यस्तै पाँचौँ बुँदामा नेपाल पत्रकार महासंघ कैलाली शाखा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी सबै पत्रकारलाई धन्यवाद ज्ञापन गरिएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र बलायर प्रमुख अतिथि रहेका थिए । धनगढी ७ मनेहरामा रहेको चन्द्रमुखी ताल क्षेत्रमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन कैलाली शाखाका सचिव तेज राज भट्टले गरेका थिए । कार्यक्रममा पत्रकारहरूका हक अधिकार, पछिल्लो समयका चुनौती लगायतका विषयमा छलफल गरिएको थियो ।