अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भित्र सञ्चालित गेटा अस्पताललाई तत्काल शिक्षण अस्पतालमा रूपान्तरण गरी ३ सय शय्यामा सञ्चालन गर्न माग गरिएको छ । शनिवार संघीय सांसद केपी खनालको नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्री सस्मित पोखरेललाई भेटेर सो माग गरेको हो ।
अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गरी आधुनिक उपकरण सहित विशेषज्ञ सेवा सञ्चालन गर्न, कम्तीमा ३०० शय्याको अस्पतालको सङ्गठनात्मक सर्वेक्षण तथा व्यवस्थापन पारित गर्न माग गरिएको भेटघाट कार्यक्रममा सहभागी विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोक राज पाण्डेय (आगो) ले बताए ।


उनले चिकित्सा शिक्षा पठनपाठनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न, चिकित्सा सेवा र शिक्षा विस्तार गर्न आवश्यक बजेटको वित्तीय स्रोत सुनिश्चितता गर्न, विश्वविद्यालयमा पदपूर्ति समिति गठन गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न पनि माग गरिएको बताए ।
भेटघाट कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी, रजिस्टार डा. खेमराज जोशी, डा. भीमबहादुर चन्द लगायतको सहभागिता रहेको थियो । सांसद खनालले आगामी आर्थिक वर्षमै चिकित्सा शिक्षा अध्ययन सुरु गर्नुका साथै ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा विशेष जोड दिएका थिए ।
भेटघाटका क्रममा मन्त्री पोखरेलले छिटै विश्वविद्यालय सभा बस्ने बताउँदै अहिलेको बजेट कार्यान्वयन सँगै विश्व विद्यालय सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापनका लागि आफू लागि पर्ने बताएका थिए ।

















