धनगढी – नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा रमित पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् । धनगढीमा सम्पन्न महासंघको पाँचौँ जिल्ला अधिवेशनबाट पाण्डेलाई अध्यक्षमा चयन गरिएको हो । अधिवेशनले नयाँ कार्यसमिति पनि गठन गरेको छ । उपाध्यक्षमा राजन जैगडी, सचिवमा लवदेव धामी, सहसचिवमा रक्षा बागचन चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा भरत रिमाल र सह–कोषाध्यक्षमा यमुना साउद चयन भएकी छन् ।

यसैगरी सदस्यहरूमा ज्ञानु राना, रोहित नागरी, साबित्रा जोशी, प्रमेश चौधरी र जगत साउँद चयन भएका छन् । नयाँ कार्यसमितिले आगामी कार्यकालमा फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

महासंघका अध्यक्ष दिनेश बिष्टको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारिताको महत्व झनै बढ्दै गइरहेको सन्दर्भमा यस क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउने आवश्यकता औँल्याएका थिए ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने बताए ।

















