अत्तरिया– कैलालीको धनगढीमा नागरिक प्रतिवेदन पत्रको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । निड्स नेपाल र सुशासन प्रर्वद्धनका लागि युवा नामक संस्थासँगको सहकार्यमा जनहित संरक्षण मञ्च (प्रो पब्लिक) ले सञ्चालन गरेको सो सर्वेक्षणको प्रतिवेदन सोमबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।
कार्यक्रममा संस्थाले तयार पारेको विश्लेषण प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले सुदूरपश्चिम प्रदेशका तीन ओटा पालिकामा नागरिकहरुका रायसुझावहरु लिएर तथ्यांक विश्लेषण गरेको थियो । जसअन्तरगतर कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका तथा डोटीको जोरायल गाउँपालिकामा सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणबाट प्राप्त नतिजा र प्रतिवेदनको विषयमा छलफल गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रो पब्लिक की अध्यक्ष निर्मला केसीले जानकारी दिईन ।

उनले तथ्यांक संकलनका क्रममा सेवाको सन्तुष्टि, सेवा प्रदायकको व्यवहार, सेवाका प्रकार लगायतका विभिन्न विषयहरुमा सेवा लिने र दिने दुवैसँग सर्वेक्षण गरिएको बताईन । उनका अनुसार त्यसबाहेक प्रत्येक पालिकाका १५० जना व्यक्तिहरुसँग सूचनाको पहुँच, सेवामा पहुँच, सेवाको गुणस्तरियता, लैंगिक उत्तरदायी सम्बन्धी सेवा र राम्रो लाग्ने तथा सुधार हुनुपर्ने पक्षहरुका बारेमा पनि प्रश्न सोधिएको थियो । जसमा सुदूरपश्चिमका तीन ओटै पालिकाहरुबाट मध्यम खालको विश्लेषण आएको उनले बताईन ।

प्रो पब्लिकले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सो सर्वेक्षणमा सेवाको सन्तुष्टि शिर्षकमा हेर्दा तीन पालिकाहरुमध्ये गोदावरी नगरपालिका पुछारमा छ । प्रतिवेदन अनुसार सो विषयमा गरिएको सर्वेक्षणमा सहभागीमध्ये २० प्रतिशतले मात्रै सेवामा सन्तुष्ट भएको उत्तर दिएका थिए । सो शिर्षकमा सुदूरपश्चिमका तीन पालिका मध्ये चुरे पहिलोमा छ । चुरेका ७२ प्रतिशत व्यक्तिले सन्तुष्ट भएको उत्तर दिएको प्रतिवेदनमा उल्लेख छ । जोरायल गाउँपालिकाले पनि सो शिर्षकमा ५२ प्रतिशत व्यक्तिहरुको साथ पाएको छ ।
प्रतिवेदनका आधारमा सूचनाको पहुँचमा पनि चुरे पहिलो बनेको छ भने गोदावरी दोस्रो र जोरायल तेस्रो बनेको छ । सेवामा पहुँचमा भने जोरायल पहिलो बनेको छ । सेवामा पहुँच भएको विषयमा जोरायले २१ प्रतिशत समर्थन पाउँदा गोदावरी र चुरेले २०/२० प्रतिशत पाएका छन । त्यस्तै सेवाको गुणस्तरिताको विषयमा भने सर्वेक्षणले अनौठो विश्लेषण गरेको छ । सो शिर्षकमा गुणस्तर राम्रो छ भन्ने पक्षमा प्रदेशका तीन ओटै पालिकामा एक जनाले पनि सर्मथन जनाएका छैनन । ठिकै छ भन्नेमा चुरेका ८६ प्रतिशत, गोदावरीका ८७ प्रतिशत र जोरायलका ८५ प्रतिशत छन ।
त्यसबाहेक गोदावरी नगरपालिकाले सरसफाईमा १४ प्रतिशत, सार्वजनिक सेवाका ८ प्रतिशत, कर्मचारीको व्यवहारमा ४२ प्रतिशत, जनप्रतिनिधिको व्यवहारमा २८ प्रतिशत र अन्यमा ८ प्रतिशत नतिजा पाएको छ । चुरे गाउँपालिकाले सरसफाईमा १३ प्रतिशत, सार्वजनिक सेवामा ९ प्रतिशत, कर्मचारीको व्यवहारमा ४५ प्रतिशत, जनप्रतिनिधिको व्यवहारमा २५ प्रतिशत र अन्यमा ८ प्रतिशत पाएको छ । त्यस्तै जोरायल गाउँपालिकाले सरसफाईमा १२ प्रतिशत, सार्वजनिक सेवामा ८ प्रतिशत, कर्मचारीको व्यवहारमा ४६ प्रतिशत, जनप्रतिनिधिको व्यवहारमा २६ प्रतिशत र अन्यमा ८ प्रतिशत पाएको छ । विकास निर्माणका कार्यहरुमा तीन ओटै पालिकाहरुले शुन्य प्रतिशत अंक पाएका छन । सर्वेक्षणमा सहभागी व्यक्तिहरुले तीन ओटै पालिकामा विकास निर्माणका सवालमा अंक दिएका छैनन । संस्थाले गरेको सर्वेक्षणमा यस्ता विभिन्न विषयवस्तुहरुमा प्रदेशका तीन ओटै पालिकाहरुले मध्यम प्रतिक्रिया पाएका छन ।
संस्थाकी अध्यक्ष केसीले लैंगीक मैत्री र जनमैत्री सेवा हुनुपर्छ भन्ने जानकारी दिनका लागि कार्यक्रम आयोजना गरिएको बताईन । उनले तीन ओटै पालिकाका करिब ४५० जनामाथी सर्वेक्षण गरिएको बताईन । उनले सो सर्वेक्षणले धेरै ठाउमा सन्तुष्टिको लेवल कस्तो छ भन्ने कुराको जानकारी दिएको बताईन । उनले सर्वेक्षण अनुसार तयार पारिएको प्रतिवेदन नै कार्यक्रममा प्रस्तुत गरिएको बताईन । उनका अनुसार कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले सर्वेक्षणको औचित्य र महत्व आवश्यक भएको महसुस गरेको बताईन ।
संस्थाले सुदूरपश्चिमका ३ सहित देशभरका १० वटा पालिकाहरुमा सो सर्वेक्षण गरेको थियो । जसमा मधेश प्रदेशको नागराईन नगरपालिका, सिराहा नगरपालिका र नवराजपुर गाउँपालिकाका २/२ वटा वडाहरुमा सर्वेक्षण गरिएको थियो । त्यस्तै कर्णाली प्रदेशका चौकुने गाउँपालिका, सानीभेरी गाउँपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका २/२ वडाहरुमा सर्वेक्षण गरिएको थियो भने सुदूरपश्चिम प्रदेशका चुरे गाउँपालिका, गोदावरी नगरपालिका र जोरायल गाउँपालिकाका २/२ वडाहरुमा सर्वेक्षण गरिएको थियो ।

















