अत्तरिया – कैलालीको गोदावरी नगरपालिका –८ स्याउलेमा अस्थायी ट्राफिक प्रहरी पोस्टको भवन निर्माण गरिएको छ । स्थानीयबाट जिन्सी तथा नगद गरी सङ्कलन गरिएको ८ लाख ८१ हजारको लागतमा अस्थायी ट्राफिक प्रहरी पोस्टको २ कोठे भवन निर्माण गरिएको हो ।

उक्त भवनको सोमबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर रानाले उद्घाटन गरेका छन् ।

भवन निर्माणका लागि स्याउले अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी हवलदार वीर बहादुर विष्टले सहयोग सङ्कलनका लागि पहल गरेका थिए । भवन उद्घाटन कार्यक्रममा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिनुका साथै सहयोग गर्नेको नाम पनि भवनमा अभिलेखीकरण गरिएको छ ।
यसअघि भवन नहुँदा अस्थायी ट्राफिक प्रहरी पोस्टका कर्मचारी सूर्योदय सामुदायिक वनले वनले बाख्रा थुन्न निर्माण गरेको कटेरोमा बस्दै आएका थिए । हाल सोही ठाउँमा भवन निर्माण गरिएको हो ।

















