अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको आर्थिक प्रशासन शाखाका अधिकृत (छैटौँ पद) मा कार्यरत खगेन्द्र प्रसाद चौधरीको निधन भएको छ । सोमबार बिहान एक्कासि घरमै बेहोस भएर ढलेका उनको नवजीवन अस्पताल धनगढीमा निधन भएको पुष्टि भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका – ५ हसनपुर निवासी चौधरी विगत लामो समय देखि डायलिसिस गराउँदै आएको उनका छोरा नवीन चौधरीले बताए । ५८ वर्षीय चौधरी सुगर रोगबाट पनि पीडित थिए ।

यसैबिच उनको निधनमा गोदावरी नगरपालिकाले दुःख व्यक्त गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा जारी शोक बिदा सम्बन्धी सूचनामा असामयिक देहावसान भएको दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
यसैबिच उनको योगदानको कदर गर्दै सोमबार शोक बिदा दिइएको छ । गोदावरी नगरपालिका कार्यालय र अन्तरगतका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा शोक बिदा दिइएको शोक बिदा सम्बन्धी सूचनामा उल्लेख छ ।

















