धनगढी – कैलालीको धनगढीमा इन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना गरिएको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीको आयोजनामा इन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना गरिएको हो । सुन्दर सुदूरपश्चिममा रमाउनुका साथै सम्भावना खोज्ने र लगानी गर्ने वातावरण निर्माण होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालले जानकारी दिए ।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च कैलालीका पूर्व अध्यक्ष इन्जिनियर रोशन भट्टले सुदूरपश्चिममा लगानीको सम्भावना विषयक कार्यपत्र र नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सुदूरपश्चिमको पर्यटन सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरूमा सुदूरपश्चिममा लगानी गर्न इच्छुक युवा उद्यमी तथा युवा व्यवसायीहरूलाई लगानी क्षेत्रको बारेमा विस्तृत जानकारी दिइएको थियो ।


नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले व्यावसायिक रूपमा यस क्षेत्रमा रहेका सम्भावनाहरूका साथै व्यावसायिक अनुभव तथा स्थानीय तहले लगानी भित्र्याउनका लागि खेल्न सक्ने भूमिकाको विषयमा प्रकाश पारेका थिए ।
नेपाली युवा उद्यमी मञ्च कैलालीका फस्ट भिपी आयुष हमालले स्वागत गरेको कार्यक्रममा च्याप्टरहरुको तर्फबाट सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदीले, पोखरा च्याप्टरका अध्यक्ष समेज राज भण्डारी, रुपन्देही च्याप्टरका अध्यक्ष आदर्श श्रेष्ठ, सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदी, कञ्चनपुर च्याप्टरका अध्यक्ष रेसम भट्ट, नेपालगन्ज च्याप्टरका सदस्य सिद्धान्त जसरोटिया लगायत विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा भुवा नाच, सखिया तथा लठ्ठी नाचहरूको सांस्कृतिक प्रस्तुतीहरुसँगै यहाँका चौधरी थारु समुदायका विभिन्न परिकारहरूका साथै सुदूरपश्चिमका परिकारहरू समेत सहभागीहरूलाई खुवाइएको थियो ।


















