खाेज्नुहाेस

शुक्रबार र शनिबार वर्षासँगै हावाहुरीको सम्भावना

Image

धनगढी – सुदूरपश्चिमका अधिकांश ठाउँमा हावाहुरी चल्ने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हावाहुरीसंगै्र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । प्रदेशका विभिन्न ठाउँमा सामान्य वर्षा भइरहेको पनि छ ।

पश्चिमी वायु सक्रिय भएका वेला न्यूनचापीय प्रणाली पनि भित्रिएकाले बादल, हावाहुरी र पानीका गतिविधि बढेको बताइएको छ । सुदूरपश्चिमका धेरै स्थान मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार सुदूरपश्चिमका पहाडी र हिमाली एक–दुई स्थानमा भारी हिमपातको सम्भावना पनि छ ।

attariya hospital
navjiwan hospital

शुक्रबार राति सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको आकलन छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हावाहुरी शुक्रबार पश्चिम र शनिबार पूर्वी क्षेत्रमा चल्नेछ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार शुक्रबार अपराह्नतिरदाङ, बाँकेको नेपालगन्जसहितका क्षेत्रमा तीव्र गतिको हावा चल्ने देखिएको छ । हावाको गति प्रतिघण्टा ११९ किलोमिटरका दरले चल्ने सम्भावना रहेको उनले बताइन् । यसबाहेक सुदूरपश्चिम र लुम्बिनीका तराईसँगै पहाडी क्षेत्रमा पनि हावाहुरीको सम्भावना छ ।

यस्तै, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार वर्षासँगै हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन अपिल गरेको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले विज्ञप्ति जारी गरी तीव्रगतिको हावाहुरी चल्न सक्ने क्षेत्रमा बसोबास तथा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका वेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न भनेका छन् ।