अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले एक महिनाको अवधिमा लागू औषध सहित ५० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार सार्वजनिक गरेको फागुन महिनाको सम्पादित गतिविधि विवरण अनुसार ४८ पुरुष र २ महिला गरी ५० जना पक्राउ परेका हुन ।

३३ वटा मुद्दामा पक्राउ परेका उनीहरूको साथबाट गाँजा १२ ग्राम ८५० मिलिग्राम, चरेस २ केजी ६० ग्राम, खैरो हिरोइन ६३ ग्राम ६ सय मिलिग्राम बरामद गरिएको प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यस्तै सो अवधिमा अपराध दर्ता सम्बन्धी १४७ मुद्दा, जघन्य तथा गम्भीर अपराध सम्बन्धी ३५ मुद्दा दर्ता भएको उल्लेख छ ।

यस्तै सो अवधिमा १५ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । घरेलु हिंसा तर्फ ३४ उजुरी परेकोमा २९ मिलापत्र भएको, ५० जना महिला बालबालिका हराएको उजुरी आएकोमा ४३ फेला परेको, १८१ ठाडो उजुरी आएकोमा सबै फर्छ्यौट भएको प्रहरीको मासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
यसैबिच फागुन महिनामा २४ जनाले आत्महत्या गरेको विवरण प्रहरीको प्रतिवेदमा उल्लेख छ । जसमा ८ पुरुष, ९ महिला र ७ बालिका रहेका छन् । प्रहरीले एक महिनामा ११४ जनचेतनामूलक कार्यक्रम गरेको जनाएको छ ।
यस्तै एक महिनामा ५५ वटा सवारी साधन दुर्घटना भएकोमा ७ जनाको मृत्यु भएको प्रहरीको मासिक विवरणमा उल्लेख छ । यस्तै सो अवधिमा १ हजार १४६ सवारी साधन कारबाही गरेकोमा १० लाख १६ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
प्रहरीले एक महिनामा ६३ लाख ९६हजार १५ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको र जसमा ४ जनालाई पनि पक्राउ गरिएको विवरण उल्लेख छ ।














