धनगढी– कैलाली जिल्लामा खाना पकाउने ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आपूर्ति व्यवस्थालाई सहज र पारदर्शी बनाउन कडा निर्देशन जारी गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला निकायहरूसँग बसेको बैठकले ग्यासको बिक्री वितरणलाई व्यवस्थित गर्न आँठ बुँदे निर्णय सार्वजनिक गरेको हो ।
हालको विद्यमान परिस्थितिका कारण बजारमा ग्यासको अभाव हुन सक्ने त्रासका बीच उपभोक्ताको हित संरक्षण गर्न प्रशासनले यो कदम चालेको जनाएको छ । सूचनामा व्यवसायी र उपभोक्ता दुवैलाई जिम्मेवार बन्न आग्रह गर्दै कुनै पनि प्रकारको उल्लंघन भएमा प्रचलित कानुन बमोजिम कडा सजाय हुने चेतावनी समेत दिइएको छ ।


ग्यासको बिक्री वितरण प्रचलित कानुन अनुसार अनुमति प्राप्त आधिकारिक डिलरहरूले मात्र गर्नुपर्ने, खुद्रा बिक्री मूल्यमा जथाभाबी वृद्धि गर्न पाइने छैन । तोकिएको दररेटमा मात्र ग्यास बिक्री गर्नुपर्ने, ग्यास सिलिन्डरको तौलमा कुनै पनि प्रकारको तलमाथि वा ठगी गर्न पूर्ण रूपमा निषेध गरिने, बजारमा सामान भएर पनि लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गरेमा कारबाही गरिने, आवश्यकता भन्दा बढी ग्यास सिलिन्डरहरू अनावश्यक रूपमा घर वा पसलमा भण्डारण नगर्न प्रशासनले अनुरोध गरेको छ भने बोतल, जर्किन वा अन्य असुरक्षित भाँडामा इन्धन ओसारपसार र बिक्री वितरण गर्न पाइने छैन ।
प्रशासनले ग्यासको परनिर्भरता कम गर्न र सम्भावित संकट टार्नका लागि सम्भव भएसम्म इन्डक्सन चुलो र विद्युतीय हिटर जस्ता वैकल्पिक उपकरणहरूको प्रयोगलाई प्रोत्साहन गर्न सर्वसाधारणमा अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा हस्ताक्षर गरिएको सो सूचनामा स्वीकृत वितरण प्रणाली र मापदण्ड अनुसार मात्र कार्य गर्न सरोकारवाला सबैलाई सचेत गराइएको छ । बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न प्रशासनले नियमित अनुगमन समेत गर्ने तयारी गरेको छ ।


















