खाेज्नुहाेस

लाटोकोसेरोको “हु-हु” र झोलेहरूको “टु-टु”

Image
ज्ञान सिंह बिष्ट – धेरै समय अघिको कुरा हो, एउटा विशाल वनमा ‘परिवर्तन’ र ‘नयाँ नेतृत्व’को तीव्र भोक जाग्यो। वनका बासिन्दाहरूलाई लाग्यो—अबको राजा कुनै हिंस्रक सिंह वा धुर्त स्याल होइन, बरु कोही गम्भीर, सुशिक्षित र दार्शनिक हुनुपर्छ। खोज्दै जाँदा जंगलका दुई ‘चतुर’ मन्त्रीहरू—एउटा स्याल र एउटा बाँदर—एउटा जीर्ण रुखको अँध्यारो टोड्कामा पुगे। त्यहाँ एउटा लाटोकोसेरो ध्यानमग्न मुद्रामा विराजमान थियो।
attariya hospital
रातको नीरवता थियो। लाटोकोसेरोका ठूला र टल्किने आँखामा मन्त्रीहरूले एउटा ‘दिव्य ज्योति’ देखे। उनीहरूले त्यसको परीक्षा लिने विचार गरे। स्याल मन्त्रीले सोध्यो, “हे महाशय, हाम्रो वनको नेतृत्व गर्ने क्षमता तपाईँमा छ कि छैन? भन्नुहोस् त, तपाईँको अगाडि हामी कतिजना मन्त्रीहरू छौँ?” लाटोकोसेरोले आफ्नो घाँटी २७० डिग्रीमा घुमायो र गम्भीर स्वरमा हुङ्कार गर्‍यो— “हु…!” (Hoo…!)
मन्त्रीहरू त चकित परे! उनीहरूले त्यो “हु” लाई अङ्ग्रेजीको “टु” (Two) अर्थात् ‘दुई’ बुझे। उनीहरूले एकअर्काको कानमा खुसुखुसु गरे, “अहो! यसको ज्ञान त अन्तर्राष्ट्रिय रहेछ, धाराप्रवाह अङ्ग्रेजी बोल्दोरहेछ!” त्यसपछि बाँदर मन्त्रीले अर्को प्रश्न फ्याँक्यो, “मेरो टाउकोमा कतिवटा कान छन्?” लाटोकोसेरोले फेरि उही स्वर दोहोर्‍यायो— “हु…!” मन्त्रीहरूले फेरि पनि “टु” नै सुने। उनीहरूलाई लाग्यो, यो त केवल पक्षी होइन, यो त गणित र भाषाको महासागर हो। उनीहरूले वनमा गएर घोषणा गरे— “हामीले यस्तो ‘क्रान्तिकारी’ र ‘विद्वान्’ नेता पायौँ, जसले अँध्यारोमा पनि सबै कुरा देख्छ र जसको भाषा हाम्रोभन्दा निकै उच्च छ।”
यसरी, एउटा लाटोकोसेरोलाई ‘परिवर्तनको संवाहक’ मान्दै सिंहासनमा पदासिन गरियो। उसको शपथ ग्रहण समारोह ठ्याक्कै मध्याह्नको प्रचण्ड उज्यालोमा राखियो। तर विडम्बना! लाटोकोसेरोको विशेषता नै यही थियो कि ऊ रातमा त देख्थ्यो, तर सत्य र उज्यालोको सामना गर्न ऊ पूर्ण रूपमा असमर्थ थियो। दिउँसोको त्यो चर्को घाममा ऊ पूर्णतः अन्धो भइसकेको थियो।
navjiwan hospital
जब विजयी जुलुस राजमार्गमा निस्कियो, लाटोकोसेरो निकै थुरथुर काँप्दै र बिस्तारै हिँडिरहेको थियो। उसका अनुयायीहरूले भने, “हेर्नुस्! हाम्रो नेता कति ‘सालीन’ र ‘धैर्यवान’ हुनुहुन्छ, कति सोचविचार गरेर कदम चालिरहनुभएको छ!” भीडमा कतैबाट कसैले शङ्का गर्‍यो, “हाम्रो नेताले त आँखा नै खोलेको छैन कि क्या हो?” तर ‘अन्धभक्त’हरूको भीडले उसलाई ‘प्रतिक्रियावादी’ र ‘विकास विरोधी’ भनेर अपमानित गर्‍यो।
अन्ततः, त्यो जुलुस राष्ट्रिय राजमार्गमा पुग्यो। उताबाट एउटा भीमकाय ट्रक तीव्र गतिमा हर्न बजाउँदै आइरहेको थियो। ट्रकको आवाजले सारा जनावर अत्तालिए, तर लाटोकोसेरोले आफ्नो अहंकारको पर्दा खोलेन। उसले गर्जदै भन्यो, “नडराऊ मेरा भक्तहरू! यो त मेरो शक्तिको परीक्षा लिने ‘विदेशी षड्यन्त्र’ हो। जो यहाँ डराउँछ, उ मेरो मन्त्रिमण्डलमा बस्न योग्य छैन। यदि मरेछौ भने पनि चिन्ता नगर, तिमीहरूलाई ‘महान् शहीद’ घोषणा गरिनेछ र तिम्रा शालिकहरू चोक-चोकमा ठड्याइनेछ।”
लाटोकोसेरोलाई लागेको थियो कि उसको ‘नक्कली महानता’ देखि ट्रक पनि डराएर बाटो मोड्नेछ। तर निर्जीव ट्रकलाई न उसको अङ्ग्रेजीको ज्ञान थियो, न त उसको झुठो आश्वासनको डर। केही सेकेन्डमै त्यो ट्रकले लाटोकोसेरो र उसका अन्धभक्तहरूको भीडलाई सडकमा लत्पतिएको रगतको टाटोमा परिणत गरिदियो।
तसर्थ, आउँदो चुनावमा लाटोकोसेरोको जस्तो घमण्डको दम्ब र नक्कली “हु-हु” जस्ता खोक्रा नाराहरूमा नभुलौँ। कसैलाई अन्धो समर्थन गर्नुअघि उसको विचारमा सत्यको उज्यालो छ कि छैन भनी आफ्नै विवेकले जाँचौँ। एउटा सचेत नागरिकको सही मतले नै देशलाई राजमार्गको दुर्घटनाबाट जोगाउन सक्छ; अन्यथा अन्धभक्तिको भेलले हामीलाई फेरि विनाशकै खाडलमा पुर्‍याउनेछ। अब जाग्ने पालो हाम्रो हो।
-ज्ञान सिंह बिष्ट (स्नातक चौथो सेमेस्टर)
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगर, कंचनपुर।