डडेल्धुरा — आवश्यक संख्यामा आवेदन नपरेपछि डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले माघ १ गतेसम्मका लागि तोकिएको आवेदन अवधी २ दिनका लागि थप गरेको हो ।

पुस २५ गतेदेखि माघ १ गतेसम्मका लागि तोकिएको आवेदन अवधिमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरूको संख्या न्यून भएपछि म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन प्रहरी भर्ना आह्वान गरिएको थियो । तर तोकिएको समयभित्र आवश्यक संख्यामा दरखास्त नपरेपछि दुई दिन थप गरी आवेदन लिन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनका अनुसार डडेल्धुरामा निर्वाचन प्रहरीका लागि ९४४ जनाको कोटा तोकिएको छ । तर आवेदन दिन तोकिएको समय माघ १ गतेसम्म ८०७ जनाको मात्रै आवेदन परेको कार्यालयले जनाएको छ । आवश्यक संख्यामा १३७ आवेदन कम भएपछि दुई दिन थप गरिएको हो ।
















